पुरानो विमानस्थलमा मानवीय सहायतास्थल

आदर्श समाज सम्वाददाता
चैत्र ७, २०८०
World Food Prgm Photo 1

पोखरा । विश्व खाद्य कार्यक्रमले पोखरामा मानवीय सहायतास्थल बनाउने भएको छ । पोखराको पुरानो विमानस्थलमा सहायतास्थल बन्ने भएको हो ।

युरोपेली युनियन सहयोगमा बन्ने सहायतास्थलको बिहीबारदेखि निर्माण कार्य सुरु गरिने विश्व खाद्य कार्यक्रमका कार्यक्रम प्रबन्धक मोति थापाले बताए । उनका अनुसार ४ महिनामा निर्माण सकिने लक्ष्य रहेकोमा लागत १ सय ६१ हजार अमेरिकी डलर छ । ‘निर्माण सकिएपछि हाललाई उपकरण, औजार राखिनेछ । विपत्मा चाहिने खाद्यन्न भण्डारण गर्न पनि सकिन्छ’, उनले भने ।

यसअगाडि विश्व खाद्य कार्यक्रमले काठमाडौं, भैरहवा, धनगढी, वीरगञ्ज, बर्दीवास लगायत देशका ११ स्थानमा मानवीय सहायतास्थल बनाइसकेको सञ्चार अधिकृत मोनिका उपाध्यायले बताइन् । ती सहायतास्थलको २ सय २० मेट्रिक टन खाद्यन्न भण्डार गर्न सक्ने क्षमता छ । विषेशगरी पोखरा र भैरहवालाई काठमाडौंको विकल्पका रुपमा हेरिएको उनले बताइन् ।

विश्व खाद्य कार्यक्रमले नयाँ विमानस्थलमा बनाउने भने पनि विविध कारणले पुरानो विमानस्थलमा बनाउन लागिएको कार्यक्रम प्रबन्धक थापाले बताए । ‘काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा भवितव्य भइहाल्यो भने हामीले कि पोखरा कि भैरहवा रोज्नुपर्‍यो,’ उनले भने, ‘पोखराको पनि नयाँमा बनाउने कुरा चलेको थियो तर दुर्गममा केही भइहाल्यो भने हेलिमार्फत खाद्यान्न लैजानुप¥यो, नयाँ एअरपोर्टबाट हेली चल्दैन त्यसैले पुरानो एअरपोर्ट उपयुक्त भयो ।’ पुरानो विमानस्थलले १५ सय स्क्यार मिटर जमिन उपलब्ध गराएको उनले सुनाए ।

कसरी सबैका लागि खाद्यान्न पुर्‍याउन सकिन्छ कार्यक्रमको प्राथमिकतामा रहेको उनको भनाइ छ । ‘काम गर्ने मोडालिटीमा परिवर्तन गरेका छौं । पहिला जस्तो फिल्डमा गएर काम गर्नुको सट्टा प्रदेश र स्थानीय तहलाई सघाउने गरेका छौं’, उनले भनिन्, ‘कसरी सबैका लागि खाद्यन्न पुर्‍याउन सकिन्छ त्यसमा ध्यान छ । गण्डकी खाद्यन्नमा सुरक्षित भएकाले यहाँ जलवायु परिवर्तन सम्बन्धि मुद्वामा काम गर्नेछौैं ।’

सहायतास्थलले आपत्कालीन राहत र उद्दारका सामग्रीको पूर्वभण्डारण, प्राप्ति, भण्डारण, पुन प्याकेजिङ, तथा विपद्पछि तोकिएको स्थानमा ढुवानी र वितरणमा सजिलो हुने उनको भनाइ छ । पोखरामा स्थापना हुने सहायतास्थलले गण्डकी प्रदेशका जनता विपत्का बेला लाभान्वित हुने उपाध्यायको विश्वास छ ।

Related News

सम्बन्धित समाचार

hero news full width