चौथो पटक मन्त्री बन्दै दीपक मनाङे, आजै शपथ खुवाउने तयारी

आदर्श समाज सम्वाददाता
चैत्र ५, २०८०
dipak-manage1678951534

पोखरा । पोखरा । गण्डकीको संसदीय राजनीतिक गणितमा जहिल्यै निर्णायक अंक बन्दै आएका सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे चौथोपटक मन्त्री बन्ने भएका छन् । आइतबार मात्र प्रदेश सभा सचिवालयमा दल त्यागको निवेदन दिएका मनाङेलाई मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री बनाउने भएका छन् ।

उनको सपथका लागि प्रदेश प्रमुखको कार्यालयमा खबर पुगिसकेको छ भने त्यसै अनुसार तयारी थालिएको छ । ३ बजेपछि शपथ हुनेछ । उनलाई कुन मन्त्रालय दिन लागिएको भन्ने बारेमा सार्वजनिक त भएको छैन । तर उनी चौथोपटक मन्त्री बन्न लागेको भने पक्का हो । योसँगै गण्डकीको राजनीतिले रोचक मोड लिने भएको ।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गण्डकीमा समेत नयाँ गठबन्धनले सरकार बनाउने चर्चा चलिरहेका बेला मनाङेको कदमपछि एकाएक नयाँ तरंग सिर्जना भएको हो ।
केन्द्रमा प्रचण्डले गठबन्धन फेरेलगत्तै गण्डकीमा मुख्यमन्त्री पाण्डेले माओवादीका २ मन्त्रीलाई बर्खास्त गरेका थिए । त्यसपछि माओवादीले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएसँगै पाण्डे सरकार अल्पमतमा परेको थियो । पाण्डे सरकारले अबको १८ दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेसका २७ सांसद छन् । बहुमतका लागि उसलाई थप ४ मत चाहिन्छ । राप्रपाका २ सदस्य र दीपक मनाङेको मत समेत कांग्रेसका लागि अपुग हुन्छ । त्यसका लागि माओवादीको चुनाव चिह्नबाट चुनाव जितेका फडिन्द्र देवकोटा निर्णायक हुन सक्छन् । उनको पार्टी नेपाल समाजवादी रहे पनि सदनमा भने माओवादीकै सांसदका रुपमा दर्ज छन् । पार्टी नेता बाबुराम भट्टराईले अलग्गै दलीय मान्यताका लागि संघीय प्रतिनिधि सभा र निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । फडिन्द्रलाई समेत गन्दा माओवादीका सभामुखबाहेक ७ सांसद छन् । नेकपा एमालेका २२ सांसद छन् ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार गिराएर कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा सरकार बनाउने अंकगणितमा दीपक मनाङे निर्णायक थिए । त्यतिबेला स्वतन्त्र विजयी मनाङे एमालमा प्रवेश गरेको भनिए पनि संसद सचिवालयमा सूचना दर्ता नगरेकै कारण गुरुङ सरकार चुकेको थियो ।

अहिले पनि स्वतन्त्र निर्वाचित उनी माधव नेपाल नेतृत्वको पार्टीमा आबद्ध भएका थिए । दोस्रो कार्यकालका लागि सरकार गठन हुँदा खगराज अधिकारीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका उनले विश्वासको मत भने दिएनन् । सुरेन्द्रराज पाण्डेको नेतृत्वमा सरकार गठन भएपछि मन्त्रीको आशामा बसेका मनाङेको इच्छा त्यतिबेला पनि पूरा भएन ।

उनै मनाङेले आइतबार गण्डकी प्रदेश सभामा दलीय आबद्धता त्यागेको पत्र दर्ता गरेसँगै गण्डकीको राजनीतिमा नयाँ तरंग सिर्जना भएको हो । सरकार गठनको तयारीमा जुटेको एमालेलाई यो राजनीतिक घटनाले धक्का दिने अनुमान सुरु भएको छ । एमालेको तयारी अनुसार अबको १९ दिनपछि पाण्डे नेतृत्वको सरकारले सदनबाट विश्वास गुमाएपछि नयाँ सरकार गठन हुनेछ ।

माओवादीसँगको गठनबन्धनलाई पक्का बनाउन राप्रपाका २ मत गनेर एमाले बसेको छ । मनाङेको यो कदमले एमालेमा चस्का पसेको छ । उता राप्रपाले पनि कांग्रेसका सुरेन्द्रराज पाण्डेलाई नै विश्वासको मत दिने सम्भावनालाई यसले थप बल पु¥याएको छ ।

बिना कारण र अनयासै केन्द्रमा फेरिइ रहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै गण्डकीमा त्यस किसिमको परिस्थिति सिर्जना हुन नदिन आफू सधैं प्रतिवद्ध रहेको मनाङेले उल्लेख गरेका छन् । केन्द्रकै गठबन्धन गण्डकीमा कायम उनले भनेका छन्, ‘रहँदा पनि एमाले माओवादी गठबन्धनलाई बहुमत पु¥याउन सहज अवस्था देखिँदैन । त्यसो हुँदा मौजुदा गण्डकी प्रदेश सभा विघटन हुने र मध्यावधिमा जान सक्ने खतरा देखिन्छ ।’

आफू मध्यावधि चुनाव गरेर देशको ढुकुटी सक्ने कुराको विपक्षमा रहेको र अघिल्लो प्रदेश सभामा पनि विपक्षमै उभिएको उनको तर्क छ । ‘त्यसैले आफू स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवलाई निवेदन पेस गर्नुभएको छ,’ उनको सचिवालयले भनेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width