गण्डकीका नयाँ प्रदेश प्रमुख भट्टले सम्हाले पदभार

आदर्श समाज सम्वाददाता
चैत्र ४, २०८०
Pradesh Pramukh Photo

फाइल तस्बिर

पोखरा । गण्डकीका नवनियक्त प्रदेश प्रमुख डिल्लीराज भट्टले कार्यभार सम्हालेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सुदूरपश्चिमका डिल्लीराज भट्टलाई गण्डकीको प्रदेश प्रमुख नियुक्त गरेका थिए ।

फागुन २८ गते नियुक्त भएका एमाले निकट भट्ट शनिबार पोखरा आएर आइतबार पदभार सम्हालेका हुन् । उनलाई गण्डकीका मुख्यमन्त्री, मन्त्रीसहित सभामुख, विपक्षी दलका नेताहरूले स्वागत गरेका थिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालसम्म सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई अवगत गराए । निवासमा भएको औपचारिक कार्यक्रमलगत्तै भट्टले कार्यालय पुगेर पदभार सम्हालेका छन् ।

भट्टले संविधानको पूर्ण कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्ने प्रतिबद्धता जनाए । ‘२८ गतेअघि पार्टीमा पार्टीमा क्रियाशील थिएँ,’ उनले भने, ‘जसरी पार्टीमा प्रतिबद्ध भएर लागेको थिएँ, अब संविधान र कानुन पालना र कार्यान्वयनका लागि दत्तचित्त भएर लाग्नेछु । सबैको साथ र सहयोगको अपेक्षा गरेको छु ।’

सत्ता गठबन्धन फेरिएसँगै पृथ्वीमान गुरुङ पदमुक्त भएपछि भट्ट नयाँ प्रदेश प्रमुखमा नियुक्त भएका हुन् । उनी गण्डकीको पाचौँ प्रदेश प्रमुखका रुपमा पोखरा आएका हुन् ।
गण्डकीको संस्थापक प्रदेश प्रमुखका रुपमा बाबुराम कुँवर प्रदेश प्रमुखको रूपमा खटिएका थिए । त्यसपछि अमिक शेरचन, सीता पौडेल र पृथ्वीमान प्रदेश प्रमुखको रूपमा काम गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width