प्रतिभाले सम्मान गर्‍यो हरिवंश र प्रकाश सपुतलाई

आदर्श समाज सम्वाददाता
चैत्र २, २०८०
Prativa Samman PIC

पोखरा । कलाकार तथा लेखक हरिवंश आचार्य र गायक प्रकाश सपुतलाई पोखराको प्रतिभा माध्यमिक विद्यालयले सम्मान गरेको छ । प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार–२०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार–२०८०’ बाट सम्मान गरेको हो ।

उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद १/१ लाख रुपैयाँसहित सम्मान गरे ।

आचार्यले हास्यव्यंग्य र अभिनयको माध्यमबाट देश र जनतालाई सुसुचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुसी छरेको तथा सपुतले गीत र संगीतको माध्यमबाट उत्पीडित समुदाय, जातिय विभेद, नागरिक भएरपनि अनागरिक भएर बाँच्न बाध्य भएका जनताको आवाज, विदेशिएका युवाको अवस्था चित्रण गरेर दर्शक/श्रोताको मन जित्न सफल भएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए ।

प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआइभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलगायतलाई सम्मान गरिसकेको छ ।

प्रतिभा सम्मान अर्पण समारोहको अवसरमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान र वर्ष सर्वोत्कृष्ट शिक्षकलगायत विधामा पनि पुरस्कृत गरेको थियो ।

सो अवसरमा उक्त विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमविविएस, सिए, होटल म्यानेजमेन्टलगायतका लागि छात्रवृत्ति पाउन सफल विद्यार्थीहरु तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए । सो अवसरमा विद्यार्थीले ‘यो देश मेरो पनि होइन र ? भन्ने गीतमा उत्कृष्ट प्रस्तुति दिएपछि गायक प्रकाश सपुतले स्टेजमै उक्लिएका थिए भने केहिबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरेका थिए ।

कार्यक्रममा राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केही गर्छु भन्नेहरुलाई थप हौसला प्रदान गरेको बताए ।

सम्मानित वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केही गर्छु भन्नेहरुलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेहरुको कमी हुँदैन भन्ने आभाष दिलाएको बताए । अर्का सम्मानित गायक, संगीतकार तथा कलाकार प्रकाश सपुतले सम्मानले आफूलाई थप नया कार्य गर्नका लागि जिम्मेवारी थपेको महसुस गराएको बताए । सो अवसरमा उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर विद्यार्थी तथा अभिभावकहरुलाई मनोरञ्जनपनि प्रदान गरे ।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापलाई पनि उत्तिकै ध्यान दिएको बताए । उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि पुरस्कार प्रदान गर्ने गरेको बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै