संगम एकेडेमीलाई उपाधि

आदर्श समाज सम्वाददाता
फागुन २६, २०८०
sangam wins

पोखरा । पोखरामा पहिलो पटक आयोजना गरिएको यु–१३ नाइन ए साइड फुटबल प्रतियोगिताको उपाधि संगम एकेडेमीले जितेको छ ।

शनिबार पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानमा भएको फाइनलमा लेकसाइडको ब्लु स्प्यारो एकेडेमीलाई १–० गोलले पराजित गर्दै संगमले उपाधिसहित नगद २० हजार रुपैयाँ प्राप्त गरेको हो । नियोङ गुरुङको निर्णायक गोलमा उसले उपाधि जित्न सफल बन्यो ।

पोखरा वडा १३ को आयोजना, संगम क्लबको सहयोग तथा कास्की जिल्ला फुटबल संघको समन्वयमा भएको प्रतियोगितामा कास्कीका विभिन्न १२ एकेडेमीले भाग लिएका थिए ।

प्रतियोगितामा संगमका नियोङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै सर्वाधिक गोलकर्ताको पुरस्कार पनि उनैले थापे । मिडफिल्डरको पुरस्कार संगमकै अस्कर अलीले प्राप्त गरे । डिफेन्डरको पुरस्कार ब्लु स्प्यारोका रोहित दाहालले पाउँदा उत्कृष्ट गोलकिपरको पुरस्कार संगमका सिदान गुरुङले पाए । उनीहरुले जनही ५ सय रुपैयाँ प्राप्त गरे ।
विजेतालाई कास्की जिल्ला फुटबल संघ अध्यक्ष उज्ज्वल रञ्जित, पोखरा १३ का वडाध्यक्ष किरण बरालसहितले पुरस्कार प्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width