मर्दीखोला र बनौ उपाधिका लागि भिड्ने

आदर्श समाज सम्वाददाता
फागुन २५, २०८०
basketball

पोखरा । पोखरामा जारी खुला बास्केटबल प्रतियोगितामा पुरुषतर्फ मर्दीखोला र बनौ बास्केटबल उपाधिका लागि भिड्ने भएका छन् । पुन एकता क्लब पोखरा आयोजनामा रामघाटस्थित पुन समाजघरको बास्केटबल कोर्टमा शुक्रबारको सेमिफाइनलमा खेल जित्दै उनीहरु शनिबार फाइनलका लागि आमनेसामने हुने भएका हुन् ।

पहिलो सेमिफाइनलमा मर्दीखोलाले पर्वत बास्केटबल टिमलाई ५३–४५ स्कोरले हराउँदै फाइनल प्रवेश गरेको हो । दोस्रो सेमिफाइनलमा बनौले स्वाँतलाई ६४–५१ स्कोरले पराजित गर्दै मर्दीखोलासँगको भेट पक्का गरेको क्लब सदस्य राजेन्द्र पुनले बताए ।

महिलातर्फ अन्नपूर्ण गाउँपालिका र अमिचि क्याफे फाइनल पुगे । अन्नपूर्णले पृथ्वीनारायण क्याम्पसलाई १२–४ को स्कोरमा हराएको क्लब सदस्य पुनले बताए । दोस्रो सेमिफाइनलमा अमिचिले म्याग्दी बास्केटबल क्लबलाई १३–९ ले पराजित गर्दै फाइनल खेल्ने भएको हो ।

भेट्रान्सतर्फ एक्स एबिसी फाइनल प्रवेश गरेको छ । एबिसीले सातगाउँ पुन मगर समाजलाई ४८–४१ को स्कोरले हराएको हो । कास्की र लामाचौरबीचको दोस्रो सेमीफाइनल समय अभावका कारण हुन सकेन । स्थगित खेल शनिबार बिहान हुनेछ । पुरुषतर्फको क्वाटरफाइनलमा मर्दीखोलाले नागीलाई ६५–५७ ले पराजित गरेको थियो । अन्तिम क्वाटरफाइनलमा स्वाँतले नदीपुर बास्केटबल क्लबलाई ७०–६४ ले हरायो ।

२६ फागुनसम्म सञ्चालन हुने प्रतियोगिता पुरुष, महिला र भेट्रान्स गरी ३ विधामा सञ्चालन भइरहेको संयोजक रनसिंह गर्बुजाले बताए । सबै विधाको फाइनल शनिबार हुनेछ ।
पुरुषतर्फ प्रथम हुने टिमलाई १ लाख रुपैयाँ नगदसहित ट्रफि, मेडल पुरस्कार प्रदान गरिने क्लब अध्यक्ष सुदीप पुर्जाले बताए । द्वितीयले ५० हजार रुपैयाँ नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । भेट्रान्सतर्फ प्रथमले ३५ हजार र द्वितीयले १७ हजार ५ सय नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष पुर्जाले बताए । महिलातर्फ विजेताले २० हजार र उपविजेताले १० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width