पोखरा कप क्रिकेट: प्रतिभा र नेपाल भारतमैत्रीको जीत

आदर्श समाज सम्वाददाता
फागुन १०, २०८०
Pokhara Cup Cricket Day 02

पोखरा । पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगितामा प्रतिभा माध्यमिक विद्यालय र नेपाल भारतमैत्री विद्यालय विजयी भएका छन् ।
पोखरा रंगशालको क्रिकेट मैदानमा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा प्रतिभाले सगरमाथा माध्यमिक विद्यालय र नेपाल भारतमैत्रीले एसओएस हर्मन माइनर विद्यालयलाई पराजित गरेको हो ।

पहिलो खेलमा प्रतिभाले दिएको १४७ रनको लक्ष्य पछ्याएको सगरमाथा निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन मात्र बनाउन सफल भयो । सगरमाथाका किर्बिन श्रेष्ठले सर्वाधिक ३७ रन जोडे । प्रतिभाका स्वागत अधिकारीले सर्वाधिक ४ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको प्रतिभाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । प्रतिभाका रोशन पौडेलले सर्वाधिक ४९ रन बनाएका थिए । रोहन ठकुरीले ३६ र कुशल अधिकारीले १९ रनको योगदान दिएका थिए । स्वागत अधिकारी प्लेयर अफ द म्याच चुनिए ।

आजै भएको दोस्रो खेलमा डिएलएस मेथर्डबाट नेपाल भारतमैत्रीले एसओएसलाई ३५ रनले पराजित गरेको हो । एसओएसले दिएको ९४ रनको लक्ष्य पछ्याएको नेपाल भारतमैत्रीले पानी पर्नुअघि ११ ओभर ३ बलमा १ विकेट गुमाएर ८२ रन बनाएको थियो ।

वर्षा नरोकिएपछि नेपाल भारतमैत्री डिएलए मेथर्डबाट ३५ रनले विजयी भएको हो । नेपाल भारतमैत्रीका अंकित ठकुरीले सर्वाधिक ३३ रनको अविजित इनिङ खेलेका थिए । यसअघि एसओएस १८ ओभर ३ बलमा ९३ रनमा समेटिएको थियो । एसओएसका दिक्षीत रेग्मीले १६ र कपिल पौडेलले १५ रन बनाएका थिए । नेपाल भारत मैत्रीका विवेक शाहले ३ र अलोक गुप्ताले २ विकेट लिए । नेपाल भारत मैत्रीका विवेक शाह प्लेयर अफ द म्याच घोषित भए ।

बि–बग इभेन्टको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगिता फागुन १६ गतेसम्म चल्नेछ । प्रतियोगितामा कास्कीका १२ विद्यालयले सहभागिता जनाएका छन् ।

प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ बराबरको क्रिकेट किट र उपविजेताले ४० हजार रुपैयाँ बराबरको क्रिकेट किटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

उत्कृष्ट बलर, ब्याटर तथा खेलाडीलाई पनि किट, ट्रफी तथा मेडल, उत्कृष्ट बलर र ब्याटरले जनही ५ हजार र उत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ पाउनेछ । प्रतियोगिताले विद्यालय तहबाटै क्रिकेटको विकास गर्न मद्दत पुग्ने आयोजकले विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width