पोखरा म्याराथनमा १६ राष्ट्रका धावक

आदर्श समाज सम्वाददाता
फागुन ३, २०८०
pokhara marathan (3)

पोखरा । पोखरामा शनिबार हुने १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा १६ राष्ट्रका धावकले भाग लिँदैछन् । सिटी म्याराथन अवधारणाअन्तर्गत पर्यटकीय सहर पोखरामा झण्डै २ दशकदेखि निरन्तर जारी म्याराथनमा दौडिन पोखरा तम्तयार छ ।

नेपाल भूतपूर्व खेलाडी मञ्चले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मञ्च अध्यक्ष हरिप्रसाद पराजुलीले १४ देशका ३१ विदेशी धावकले भाग लिने जानकारी दिए । धावकको दर्ता २८ माघमा सकिएकोमा खुला म्याराथनतर्फ १ सय ८ जनाले भाग लिएका छन् । हाफ म्याराथन (महिलातर्फ) १७ जना, १० किमी पुरुषमा १ सय २९, महिलामा २९, छात्र ५ किमीमा ५ सय ९०, छात्रामा ४ सय ८० जनाले भाग लिएका छन् । यसअघि, अपांगतातर्फ दौड भइसकेको छ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याण्ड, साउदी अरेबिया, ताइवान, बेलायत, अमेरिका लगायतका धावक दौडिने छन् । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट मुख्य इभेन्ट म्याराथनमा सहभागिता छ ।

म्याराथनको विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वनाले ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् । म्याराथनमै गण्डकी प्रदेशतर्फ विजेताले ५० हजार, उपविजेताले ३० र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्ने छन् । महिला हाफ म्याराथनमा विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख, तेस्रोले ७५ हजार सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

म्याराथनको मुख्य इभेन्टका विजेताले ५ लाख प्राप्त गर्ने

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार रुपैयाँ प्राप्त गर्ने छन् भने दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ५ किमी छात्रछात्रा दौडको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्ने छन् । ५ किमी भेट्रान्स महिला÷पुरुष दुवैतर्फ विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । मञ्च अध्यक्ष पराजुलीले ट्राफिक जाम हटाउन तथा सुरक्षाका दृष्टिकोणले रुट परिवर्तन गरिएको बताए ।

यसैबीच, पोखरा म्याराथनको यसपटक रुटमा समेत परिवर्तन गरिएको छ । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमी र बाँकी दौड फेवातालको सिरानतर्फ जानेछ । यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउन चिप्स प्रयोग गरिने भएको छ । यसअघि खुला म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८ औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।

म्याराथनको मुख्य प्रायोजक लक्ष्मी ग्रुपअन्तर्गत सुजल डेरी प्रालिको उत्पादन सफल दूध हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख नवीन पोखरेलले खेलकुदमार्फत पोखराको प्रवद्र्धनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथनले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।

सो अवसरमा पोखरेली मञ्च यूके अध्यक्ष करम गुरुङ, च्यारिटी रनर मञ्जु गुरुङ राई, मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, महासचिव कृष्ण तिमिल्सिनालगायतले बोलेका थिए । कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्रप्रकाश गुरुङले गैरआवासीय नेपाली संघ, अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार मञ्च अध्यक्ष पराजुलीलाई हस्तान्तरण गरे ।

त्यस्तै, पोखरेली मञ्च युकेले गैरआवासीय नेपाली संघ, तमु धिं युके, बगर भाइखलक युकेबाट संकलित करिब १९ लाख २४ हजार मञ्च अध्यक्ष करम गुरुङले हस्तान्तरण गरे भने बगर भाइ खलक युके अध्यक्ष दिलरास गुरुङले ५० हजार सहयोग गरे ।
सो अवसरमा खेलकुद पत्रकार मञ्चबाट हालै स्पेसल अवार्डबाट सम्मानित मञ्चका आजीवन सदस्य अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई बधाई दिनुका साथै पोखरा म्याराथनको गीतका रचनाकार पत्रकार आरजू विष्ट ‘सल्यानी’ र गायक विनोद बानियाँलाई सम्मान गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै