मेश्रम बराहमा हीरक जयन्ती

आदर्श समाज सम्वाददाता
फागुन १, २०८०
Meshram Barah Photo

पोखरा । मेश्रम बराह माध्यमिक विद्यालय, घान्द्रुकले हीरक जयन्तिको तयारी थालेको छ । अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा २००६ सालमा स्थापना भएको विद्यालयले हीरक जयन्ति मनाउने भएको हो ।

फागुन १५ देखि १७ गतेसम्म विविध कार्यक्रमका साथ हीरक जयन्ती मनाउने तयारी गरिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । हीरक जयन्तीलाई भव्यताका साथ सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

विद्यालयका अभिभावक, पूर्वविद्यार्थी तथा स्थानीय समाजसेवीसँग चन्दा सहयोग संकलन सुरु गरिएको अर्थ संकलन उपसमितिका संयोजक ललित गुरुङले बताए । चन्दा दाताहरूबाट ५ सय देखि ५ लाख रुपैयाँसम्म आर्थिक सहयोग प्राप्त भइरहेको अर्थ संकलन संयोजक गुरुङले जानकारी दिए । हीरक जयन्ती सम्पन्न गर्न करिब ५० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताए ।

संकलित रकम हीरक जयन्ती अन्तर्गतका कार्यक्रममा न्यूनतम खर्च गरी बाँकी रकम विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि एवं अत्यावश्यक पूर्वाधार निर्माणमा खर्च गर्ने लक्ष्य राखिएको संयोजक गुरुङले बताए । कार्यक्रममा झाँकी प्रदर्शन, विविध खेलकुद भलिबल/फुटबल/बास्केटबल, सांस्कृतिक कार्यक्रम, भूपू शिक्षक/विद्यार्थी पूनर्मिलन तथा सम्मान, चन्दादाता एवं विद्यालयमा अध्ययन गरी विभिन्न उच्च ओहोदामा पुग्न सफल व्यक्तित्वको सम्मान आदि समावेश गरिएको छ । साथै स्मारिका प्रकाशन, हीरक स्तम्भ निर्माणलगायत कार्यक्रम पनि समावेश गरिएको प्रधानाध्यापक यमप्रसाद भण्डारीले जानकारी दिए ।

तत्कालीन समयमा विद्यालयको आवश्यकता महसुस गर्दै समाजसेवी स्व धीरबहादुर गुरुङको सक्रियतामा कक्षा ७ सम्म पठनपाठन गर्ने गरी मेश्रम बराह मिडिल स्कुल स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं हीरक जयन्ती मूल आयोजक समितिका संयोजक लक्षिन गुरुङले पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार २०३४ साल माघ १८ गतेदेखि कक्षा ८ सम्मको पठनपाठन थालेको विद्यालयले २०३५ साल पुस १६ गते कक्षा ८ र ९ को स्थायी स्वीकृति प्राप्त गरेको थियो । विद्यालयले २०३६ पुस १८ गतेदेखि कक्षा १० को स्थायी स्वीकृति प्राप्त गरेको जानकारी दिँदै गुरूङले २०७४ साउनदेखि अस्थायी अनुमति लिएर कक्षा ११ र १२ को पठनपाठन सञ्चालन गरिएको बताए ।

हिमालको काखका साथै सडक सञ्जाल लगायतको अभावका कारण आसपासका क्षेत्रमा विद्यालय नहुँदा आव २०३५/३६ तिर वरपरका दाङसिङ, सावेद, भुक, लुम्ले, लान्द्रुक, काँडे, ल्वाङघलेलगायत स्थानबाट विद्यार्थीहरू यस विद्यालयमा पढ्न आउने गर्दथे । यस विद्यालयबाट हालसम्म करिब सात सय विद्यार्थीले एसएलसी उत्तीर्ण गरिसकेका प्रधानाध्यापक यामप्रसाद भण्डारीले जानकारी दिए । पछिल्लो समयमा गाउँबस्तीहरू खाली हुने क्रम बढिरहेको अवस्थामा पनि हाल यस विद्यालयमा तीन सय १० विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उहाँले कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षातर्फका विषय पठनपाठन भइरहेको बताए ।

स्वदेशी एवं विदेशी पर्यटकको आकर्षण रहेको घान्द्रुक अन्नपूर्ण आधार शिविरतर्फ जाने पदमार्गको सुरुआती गन्तव्यसमेत भएकाले आगामी दिनमा होटेल म्यानेजमेन्टको कक्षासमेत सञ्चालन गर्ने विद्यालयको सोच छ ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width