मलाया युद्धको कथा ‘गोर्खा वारियर’

आदर्श समाज सम्वाददाता
माघ २६, २०८०
gurkha warrior

पोखरा । लन्डनको लेस्चर स्क्वायरमा समेत ग्रान्ड प्रिमियर ‘गोर्खा वारियर’ ११ फागुनमा रिलिज हुँदैछ । फिल्म युनिट प्रचारका लागि शुक्रबार लाहुरेहरुको सहर पोखरा आएको छ ।

चलचित्र पत्रकार संघ नेपाल कास्कीको पत्रकार सम्मेलनमा बोल्दै निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ नेपाली चलचित्र क्षेत्रकै सान भएको दाबी गरे । ‘यो फिल्म नेपाली चलचित्र क्षेत्रकै सान हो । विदेशमा यो फिल्म जसरी रुचाइयो र विदेशमा डिमाण्ड छ,’ उनले भने, ‘नेपाली फिल्मलाई अन्तर्राष्ट्रियस्तरसम्म पुर्‍याउन इँट्टा थप्ने काम गरेको भन्ने लागेको छ ।’ झण्डै एक दर्जन फिल्म बनाइसकेका मिलनले ‘गोर्खा वारियर’ मार्फत २०९ वर्षको इतिहास बोकेको गोर्खालीको वीरता देखाउन खोजेको बताए । उनका अनुसार फिल्म ७०/८० वर्षअघिको कथा हो । सिन्धुली, सोलुखुम्बु, काठमाडौं, मलेसियालगायतमा छायांकन भएको फिल्म साढे ३ वर्ष लगाएर तयार भएको हो । हँसिया, वीरविक्रम, लिलिबिली, बबी जस्ता फिल्म निर्माण गरिसकेका चाम्स पूर्व ब्रिटिस आर्मी हुन् ।

७ फागुनमा पोखरामा समेत प्रिमियर हुने यो फिल्म मलाया युद्धमा नेपालीले प्रदर्शन गरेको वीरताको कथामा आधारित फिल्म हो । कथा सन् १९४९ वरिपरि घुम्छ । जतिबेला मलाया युद्ध नेपालीले के–कस्तो अवस्थामा लडेका थिए, तिनको परिवार तथा जीवनसमेत फिल्मले समेट्ने प्रयास गरेको छ ।

११ फागुनमा रिलिज हुने फिल्म ७ फागुनमा पोखरामा प्रिमियर हुने

कोरियन एक कम्पनीले ७ वर्षका लागि विभिन्न प्लेटफर्ममा देखाउन फिल्म किनिसकेको र अमेरिकन कम्पनीले पनि चाँडै नै विश्वभर वितरण गर्ने तयारी गरेको निर्देशक चाम्सले बताए ।

डेब्यु फिल्मबाट नायक रितेश चाम्स पनि निकै आशावादी देखिन्छन् । खोटाङका यी ब्रिटिस लाहुरे खासमा क्याप्टेन हुन् । उनले थुप्रै पटक विमान उडाएका छन् । सन् २०१६ मा अडिसनमार्फत नायकमा इन्ट्री गरेका उनले फिल्मकै लागि जल, थल र वायुमा आवश्यक पर्ने सिनका लागि विभिन्न तालिम लिएका छन् । उनी बेलायतको पाइन उड स्टूडियोमा अभिनयमा मास्टर्स गर्ने पहिलो नेपाली समेत हुन् । ब्रिटिस आर्मी, क्याप्टेन र नायकका यी त्रिवेणी फिल्म सुटिङका बेला झण्डै ज्यान गुमाएका थिए । त्यसैले उनी यो जीवन बोनस हो भन्छन् ।

नायिका रेविका गुरुङले अभियनको हिसाबले निर्देशकको आशा नमारेको दाबी गरिन् । फिल्ममा चान्स दिएकोमा निर्देशक चाम्सप्रति आभार व्यक्त गर्दै उनले इतिहास जोगाउने सिनेमामा काम गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । फिल्ममा वारसँगै गोर्खाको परिवारको आशा, दर्द, पीडा र उतिबेलाको लाइफस्टाइल कस्तो थियो भन्ने देख्न पाइने बताइन् ।

मिडिया एड्भाइजर पत्रकार डब्बु क्षत्रीले ‘गोर्खा वारियर’ गोर्खालीको गाथा अन्तर्राष्ट्रियस्तरमै चिनाउने फिल्म भएको बताए । कथा हाम्रो र व्यथा पुर्खाको समेटेर सिनेमा निर्माण गरिएको उनको भनाइ छ । चलचित्र पत्रकार संघ जिल्लास्तरमा विस्तारले नेपाली सिनेमा प्रवद्र्धनमा समेत टेवा पुगेकोमा खुसी लागेको बताए । कार्यक्रममा मिडिया को-अर्डिनेटर सरिता भारती, किरात प्रतिष्ठानका सल्लाहकार मनोज राई लगायतको उपस्थिति थियो । चलचित्र पत्रकार संघ नेपाल कास्की अध्यक्ष प्रभू अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव सन्तोष बस्यालले गरेका थिए ।

फिल्ममा रितेश, रेविकासहित विजय लामा, रियर राई, कविता आले, सुरज तमु, भुवन सिंह राई, त्रिचु राई, दिग्गज खत्री, सरोज खालिङ, अरुष सरु मगर, आशीष गुरुङलगायतको अभिनय छ । निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, अर्जुन जिसीको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, समीर मियाँको भिएफएक्स, शैलेन्द्र खनाल ‘शरद’ को गीत रचना र एलिस कार्कीको संगीत छ ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा फिल्म निर्माणमा ठूलो रकम खर्च भएको बताइएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै