पोखरा म्याराथनको रुट फेरियो

आदर्श समाज सम्वाददाता
माघ १६, २०८०
Marathoon

पोखरा । पोखरामा हुँदै आएको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा रुट परिवर्तन गरिएको छ । अघिल्ला वर्षहरुमा पोखरा रंगशालाबाट सुुरु भएर पृथ्वीचोक निस्केर पोखराका विभिन्न स्थानहुँदै पुन रंगशालामा पुगेर समापन कार्यक्रम हुने गरको थियो । यसपालि भने रंगशालाबाट निस्केर अमरसिंह, कदममार्ग, विपीमार्ग, हुँदै सहरका विभिन्न ठाउँ हुँदै लेकसाइडको क्याम्पिङ चोकमा समापन गरिने भएको छ । पोखरा म्याराथन फागुन ५ गते हुँदैछ ।

म्याराथन आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले सोमबार कार्यक्रमका मिडिया पार्टनरसँगको छलफलका क्रममा उक्त जानकारी गराइएको हो । मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले अघिल्ला वर्षहरुको अनुभवबाट सिक्दै रुट परिमार्जन गरिएको बताए ।

दक्षिण एसियाकै पुरानो र नेपालकोे दौड इतिहासको जेठो पोखरा म्याराथन सफल पर्न मिडियोको साथ र सहयोग महत्वपूर्ण रहेको भन्दै गुरुङले यसपालि पनि यस्तै अपेक्षा गरेको बताए । पोहोरको म्याराथनका विभिन्न विधामा ८ हजार ७ सय ७१ जना सहभागि भएको र यसपालि अझै बढेर जाने अपेक्षा गरिएको उनले बताए । उनका अनुसार गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्र्रत्यक्ष सहयोग रहने कार्यक्रममा महानगरभित्रका भित्रका १७ वटा वडा कार्यालयको सहयोग रहने जानकारी गराए । उनले भने, ‘५ सय भन्दा बढी संघ संस्थाहरुको सहकार्य, ५ सय भन्दा बढी स्वयंसेवक परिचालन हुँदा १५ भन्दा बढी अस्ताल परिचालित हुन्छन् ।’

प्रतियोगिताका विभिन्न विधामा सहभागिताका लागि अनलाइन दर्ता खुलिसकेको छ । उनका अनुसार अनलाइनबाटै आवदेन भरेर शुल्क भुक्तानी गर्न सकिन्छ । परिणामपछि प्रमाणपत्र समेत अनलाइनमै उपलब्ध हुन्छ । यो संस्करणमा सबै दौड प्रतियोगिताहरुमा टाइमिङ चिपको प्रयोग गरिने भएको छ । माघ २८ गतेसम्म नाम दर्ता गर्न सकिने छ ।

प्रतियोगितामा पुरस्कारका लागि मात्र १८ लाख १६ हजार रुपैयाँ खर्च हुने

४२.१९५ किमी खुला म्याराथन विजेताले ५ लाख रुपैयाँ नगद पाउनेछन् । भने द्वित्तीय र तृतीयलाई क्रमश ३ र २ लाख रुपैयाँ प्रदान गरिनेछ । गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहनस्वरुप प्रथम, द्वित्तीय र तृतीयलाई क्रमश ५० हजार, ३० हजार र २० हजार रुपैयाँ प्रदान गरिने छ । प्रतियोगितामा पुरस्कारका लागि मात्र १८ लाख १६ हजार रुपैयाँ खर्च हुने र १ हजार जनालाई मेडल प्रदान गरिने निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताए ।

पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले नाम दर्ता गरिसकेका छन् । निवर्तमान अध्यक्ष गुरुङले पोखरा म्याराथनको उचाईलाई अझै आत्मसात गर्न सञ्चारक्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउनु पर्नेमा जोड दिए । ‘पोखरा म्याराथन कुनै संस्थाको मात्रै प्रतियोगिता होइन । यो आम पोखरेलीहरुको हो,’ उनले भने, ‘पोखरा म्याराथनको जसरी आज विश्वव्यापी रुपमा चर्चित भएको छ यसको श्रेय हामी सबैलाई बाँड्न चाहन्छौं ।’

मञ्चका प्रथम उपाध्यक्ष एवं पोखरा म्याराथनका मुख्य संयोजक दिलबहादुर गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा अथ्रज सञ्चारकर्मी प्रकाश सायमीले पोखरा म्याराथनको इतिहासले आफूलाई समेत सो दिन पोखरा आउन प्रेरित गरेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।

पोखरा म्याराथन प्रचार–प्रसार समितिका संयोजक एवं मञ्चका कार्यवाहक महासचिव केशव पाठक, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, सचिव माधव बराल, खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, आदर्श समाजका सम्पादक भरत कोइराला, समाधान दैनिकका सम्पादक केशवशरण लामिछानेले पोखरा म्याराथन सफल बनाउन आ–आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाए । फागुन ३ गतेबाट पोखरामा सुरु हुने नेपाल लिटरेचर फेस्टिभल र पोखरा म्याराथनबीच सहकार्य गर्ने विषयमा उक्त अवसरमा छलफल भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width