सूर्यदर्शन सहकारी ठगीमा जिबिसहित ३ जनाविरुद्ध डिफ्यूजन नोटिस जारी

आदर्श समाज सम्वाददाता
माघ १४, २०८०
surya darsan

पोखरा। पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको अभियोगमा मुख्य आरोपी संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जिबि) राई विरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ । उनीसँगै वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर र पूर्व अध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि डिफ्यूजन नोटिस जारी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

सहकारीको रकम हिनामिनासम्बन्धी मुद्दामा कास्की प्रहरीले डिफ्युजन नोटिसको प्रक्रिया अघि बढाइदिन प्रहरी प्रधान कार्यालयलाई गत महिना अनुरोध गरेको थियो । सो बमोजिम इन्टरपोलको नेशनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले डिफ्यूजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी श्रवणकुमार बिकले कास्की प्रहरीले यसअघि नै उनीहरुविरुद्ध उक्त नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयमा अनुरोध गरेमा माघ १२ मा इन्टरपोल महासचिवालयले उक्त नोटिस जारी गरेको बताए । उनले भने, ‘उनीहरुलाई खोजतलास एवं पक्राउका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयद्वारा ती प्रतिवादीविरुद्ध गत माघ १२ मा डिफ्युजन नोटिस जारी भएको हो ।’ नोटिस जारीसँगै इन्टरपोलका सदस्य राष्ट्र मुलुकहरुमा आरोपी भए वा नभएको लोकेट हुनेछ । पक्राउपछि उनीहरुलाई नेपाल ल्याउने प्रक्रिया हुनेछ ।

पोखरा ४, नालाकोमुखस्थित सूर्यदर्शनको सञ्चालक समितिका पदाधिकारीहरु समेतले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेको र सहकारीको रकम हिनामिना एवं ठगी गरेको जाहेरीअनुसार गत साउन २२ मा सहकारी ठगीसम्बन्धी कसूरमा मुद्दा दर्ता भएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालयले गत १८ असोजमा १९ जनालाई प्रतिवादी बनाई १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो भराई बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म कैद सजाय माग दाबीसहित जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको थियो । १९ जनामध्ये सहकारीका सदस्य शिवबहादुर गुरुङसहित उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, सञ्चालक समिति सदस्य भविश्वर अर्याललाई अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउने आदेश जारी गरेको थियो । सहकारी उपाध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोमा शिवबहादुर र भविश्वर आफैं अदालत उपस्थित भएका थिए । त्यसबाहेक अझै १५ जना प्रतिवादी फरार सूचीमा छन् ।

जसमा संस्थापक अध्यक्ष जीबी राईसहित वर्तमान अध्यक्ष थानबहादुर बुढा मगर र पूर्व अध्यक्ष भूपेन्द्र राई, सचिव धीरजकुमार दाससहित लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्य हेमन्त अधिकारी, प्रमोद भट्टराई, अनुज नकर्मी, आइस्मा गुरुङ, कविता तामाङ, सागर केसी, ललिता तामाङ, दिनेश रोका र सुरज श्रेष्ठ फरार रहेका हुन् ।

सर्वसाधारणबाट रकम उठाएर सहकारीले आर्थिक हिनामिना गरेपछि १८ हजार ७ सय जना बचतकर्ताको बिचल्ली भएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width