निरन्तर साधनामा आर.बि.निश्चल, ल्याए ‘उल्टो धार’

आदर्श समाज सम्वाददाता
माघ १३, २०८०
Rb Nischal

पोखरा । पाल्पाली साहित्यकार आर.बी. निश्चलको ‘उल्टो धार’ कविता संग्रह शनिबार लोकार्पण भएको छ । धवल पुस्तकालय तानसेनमा आयोजित समारोहमा वरिष्ठ साहित्यकार एवं गजलकार बूँद रानाले उक्त कृति विमोचन गरे । उनले आर.बी. निश्चलले ‘उल्टोधार’ बाट जीवनमा सत्यता खोज्ने अभियानमा लागेको बताए ।

समीक्षक डा. शंकरप्रसाद गैरेले कृतिको समीक्षा गर्दै कविताले दिन खोजेका सन्देश, चेतना, हालको सामाजिक, धार्मिक अवस्थाबारे चर्चा गरे । २१ औं शताब्दीमा पनि जातीय विभेद गरेर समाजमा उच्च व्यक्ति कहलाउनेहरु उल्टो धारमा हिंडिरहेको विषयलाई कवितामार्फत व्यक्त गरिएको उनले बताए ।

कवि निश्चलले हिन्दू धर्मको गलत प्रचार गरेर विभिन्न व्यक्ति, शासक केही वर्ग उल्टोधारमा हिंडिरहेको भन्दै व्यङ्ग्य गरे । जातीयताका कुरा गरेर समाजलाई उल्टो बाटो हिंडाउनेहरु सचेत गराउनुपर्ने कुरा आफ्नो कृतिले बोलेको उनको भनाइ छ ।

कार्यक्रममा साहित्यकार तिलक लामिछाने, रामप्रसाद अर्याल, मन गहिरेलगायतले कविले साहित्य क्षेत्रमा गरेको योगदान, उनको साहित्यिक यात्रा र ‘उल्टोधार’ बारे चर्चा गरे । कार्यक्रममा साहित्यकार महेन्द्र पन्थी, आयाम कार्की लगायतले उक्त कृतिका कविता वाचन गरे ।

११८ पृष्ठको कृतिलाई ‘समयचिन्तन’, ‘प्रश्न’ र ‘आफ्नै आँखा’ गरी तीन परिच्छेदमा विभाजन गरिएको छ । जसमा ४८ कविता संग्रहित छन् । ‘समयचिन्तन’ मा १८ थान, ‘प्रश्न’ मा १२ थान र ‘आफ्नै आँखा’ मा १८ थान कविता समाविष्ट छन् । यो कृति फोनिक्स बुक्सले प्रकाशनमा ल्याएको हो ।

धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा सचिव टंक पन्थले स्वागत र महासचिव राजेशकुमार अर्यालले सञ्चालन गरेका थिए ।

पछिल्लो समय २०७६ सालमा किस्ताकिस्तामा जिन्दगी (कवितासंग्रह) पाठकमाझ ल्याएका उनका यसअघि मौन हिमाल (कवितासंग्रह), सपनाफूल (खण्डकाव्य), आँसु खस्दै गर्छ (कवितासंग्रह), पैताला पुकार (कवितासंग्रह) प्रकाशित भइसकेका छन् ।

कवि आर.बि.निश्चल ।

नयाँ कृति पाठकमाझ ल्याएपछि उनलाई सामाजिक सञ्जाल लगायतमा बधाई तथा अझ साहित्यिक साधनाको लागि शुभकामना दिइएको छ ।

उनको प्रशंसा गर्दै कवितासंग्रहको भूमिकामा डा. लक्ष्मणप्रसाद गौतम लेख्छन्, ‘प्रस्तुत कवितासंग्रहको शीर्षकविता ‘उल्टो धार’ कथ्य र कला दुवै दृष्टिले गम्भीर छ । कवितामा प्रयुक्त बिम्ब, प्रतीक र विभिन्न सादृश्य विधानले कवितालाई प्रभावपूर्ण बनाएको देखिन्छ । उल्टो धारमा उनले जीवनको विपर्यास देखेका छन् र पहिचानको पीडा, किनारीकृत हुनुको विडम्बना तथा दलित हुनुको अपमान आदि उनका कविताका दृष्ट र भुक्त सन्दर्भ हुन् । यस्ता अनेक सन्दर्भलाई उनका कविताले यसरी बिम्बात्मक रूपमा प्रस्तुत गरेका छन्–

‘मरेको माछो
नदीको धारसँगै उत्तानो बग्छ
जिउँदो माछो
नदीको उल्टो धारमा
जीवन खोज्दै पौडिन्छ ।’

प्राडा गोविन्दराज भट्टराई लेख्छन्, ‘आर.बी. निश्चल ‘अज्ञात सत्यका झिल्काहरू टिप्तै र जोड्दै सुन्दर कविता रच्न सिद्धहस्त बनिसके । उनी मेरा एक ज्ञानी विद्यार्थी हुन्, जसले साहित्यको अमरपथ पक्रे । जहाँ धेरै दुःख, कष्ट, हताशा, विचलन आउँछन् तर थोरै आशा जोगाउन नित्य संघर्षको बाटो रोज्नुपर्छ । कविताको सत्य भनेको कोइलाखानीको हीरा निकाल्नुजस्तै हो । त्यसैले १९५२ का नोबेल लरेट अर्नेस्ट हेमिन्ग्वेले भनेका छन्–‘द क्राउन अफ लिटरेचर इज पोएट्री ।’ किनभने कविताको प्रकाशले नै बिस्तारै समाजका असत्य र अन्धकार चिर्दै लान्छ । निश्चलको यो संग्रह केही दर्शन, केजी चिन्तन र धेरै चिन्ताले निर्मित एक प्रशंसनीय कला हो । हार्दिक बधाई ।’

यसैगरी, राजकुमार बानियाँ लेख्छन्, ‘तपाईंको कविता अरूको जस्तो वाचाल छैन । मौन छ । आक्रोश छैन । सन्त टाइपको छ । मलाई त मनप¥यो । तपाईंको काव्यिकता गहिरो छ । पीडालाई अभिव्यक्त गर्ने कला गज्जब छ । अभिव्यक्तिमा प्रौढता आइसकेको छ । यस्ता कविता दीर्घजीवी हुनसक्छ । तपाईंले जसरी लेख्ने कवि छैनन् यतातिर । तपाईं वनफूलजस्तो कवि हो, आफ्नै परिवेशमा रमाउने । प्रकृतिले नै तपाईंलाई कविता लेखाएको छ । कृत्रिमता पटक्कै छैन । कवितामा विश्राम नलिनु होला । बधाई ।’

पाल्पाको रिब्दीकोट ७ (साविक पालुङ मैनादी १) का आर.बि. निश्चलको पहिलो पल्ट २०६० सालमा नव जनचेतना (साप्ताहिक) मा ‘तिम्रो आशामा’ शीर्षकको कविता प्रकाशित भएको थियो ।

नूरगङ्गा साहित्य प्रतिभा पुरस्कार–०७३, सकला सिद्धार्थ वाङ्मय पुरस्कार–०७४, राष्ट्रिय कविता महोत्सव–२०७६ मा लुम्बिनीमै उत्कृष्ट कविका रूपमा पुरस्कृत उनले थुप्रै पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । अंग्रेजी विषयमा एमएड उनी हाल प्राध्यापन पेसामा संलग्न छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width