राष्ट्रिय सभामा गण्डकीबाट तीनै जना गठबन्धनका उम्मेदवार

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
Manrupa, Kiran & Padam~ Gandaki Province

पोखरा । राष्ट्रियसभा निर्वाचन अन्तर्गत गण्डकी प्रदेशबाट ३ वटै सिटमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अन्यतर्फबाट कांग्रेसका किरणबाबु श्रेष्ठ, अपांगतामा कांग्रेसकै पदमबहादुर परियार र महिलातर्फ माओवादीकी मनरुपा शर्मा विजयी भएका हुन् ।

किरणबाबु ३ हजार ८ सय ८ मतभार पाएर विजयी भएका हुन् । श्रेष्ठलाई स्थानीय तहतर्फ १ सय र प्रदेशसभा तर्फ ३६ जनाले मत दिएका थिए । विपक्षी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६९ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अन्य कोटामा गठबन्धनको स्थानीय तहतर्फ १ जनाले मत क्रस गरेका छन् ।

महिला क्लस्टरमा विजयी नेकपा माओवादी केन्द्रकी मनरुपा शर्माले ३ हजार ६ सय ६० मतभार पाएर विजयी भइन् । शर्मालाई स्थानीय तहतर्फ ९५ र प्रदेशसभा तर्फ ३५ जनाले मत दिएका थिए । विपक्षी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मतभार पाइन् । उनलाई स्थानीय तह तर्फ ७३ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । गठबन्धनको स्थानीय तहतर्फ १ सय १ जना जनप्रतिनिधिमध्ये ५ जनाले विपक्षीलाई मतदान गरेका हुन् । स्थानीय तहमा १ भोट र प्रदेशतर्फ पनि १ भोट बदर भएको थियो । राप्रपाका उम्मेदवारले स्थानीय तहबाट कुनैपनि मत पाएनन् भने प्रदेशसभाका २ सांसदले राप्रपा उम्मेदवार गौमाया श्रेष्ठलाई मतदान गरे । स्थानीय तहतर्फ बागलुङको ढोरपाटनका मेयर देवकुमार नेपाली मतदानमा सहभागी भएनन् ।

अपांगता क्लष्टरमा विजयी कांग्रेसका पदमबहादुर परियारले ३ हजार ७ सय ७४ मतभार पाए । परियारलाई स्थानीय तहतर्फ १०१ र प्रदेशसभातर्फ ३५ जनाले मत दिएका थिए ।
विपक्षी एमालेका हेमचन्द्र शेरचनले २ हजार ४ सय ५८ मतभार पाए । उनलाई स्थानीय तहतर्फ ६८ जना र प्रदेशतर्फ २२ जनाले मतदान गरेका थिए । अपांगता कोटामा ३ मत बदर भएको छ । यो क्लस्टरमा भने मत क्रस भएको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width