गण्डकीमा राष्ट्रिय सभा सदस्यको मतदान सुरु

आदर्श समाज सम्वाददाता
माघ ११, २०८०
2f593e67-ba81-48a7-9821-1bc69bb9a420

पोखरा । राष्ट्रिय सभा सदस्यको चुनावको बिहीबार गण्डकी प्रदेशअन्तर्गत पोखरामा मतदान सुरु भएको छ । बिहान ९ बजेदेखि प्रदेश निर्वाचन कार्यालय परिसरमा मतदान सुरु भएको हो । मतदान समय दिउँसो ३ बजेसम्म तोकिएको छ ।

प्रदेशसभा तर्फ प्रदेश सभा सदस्य भीम कार्की र पालिकातर्फ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पहिलो मतदान गरे । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पनि मतदान गरिसकेका छन् । मतदानका लागि मतदाता पंक्तिबद्ध छन् ।

मतदानका लागि २ मतदान केन्द्र तोकिएको छ । तीमध्ये एउटा केन्द्रमा ९ जना खटिएका छन् ।

गण्डकीमा ३ सिटका लागि ४ दलबाट ८ जना प्रतिस्पर्धामा छन् । देशभर १९ सिटका लागि जारी मतदानमा गण्डकी प्रदेशमा ३ सिट (महिला, अपांग र अन्य) खाली रहन गएको हो । गठबन्धनबाट अन्य क्लस्टरमा गोरखाका किरणबाबु श्रेष्ठ, अपांगता र अल्पसंख्यकमा तनहुँका पदमबहादुर परियार र महिलामा पर्वतकी मनरुपा शर्मा उम्मेदवार हुन् । तीमध्ये श्रेष्ठ र परियार कांग्रेसका हुन् भने शर्मा माओवादी नेतृ हुन् ।

एमालेबाट अन्य क्लष्टरतर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, अपांगता र अल्पसंख्यकबाट मुस्ताङका हेमन्द्र शेरचन र महिलातर्फ गोरखाकी सम्झना देवकोटा उम्मेदवार छन् ।

राप्रपाबाट रोमबहादुर भण्डारीले अन्यतर्फ र तनहुँकी गौमाया श्रेष्ठले महिला क्लष्टरबाट उम्मेदवार छन् ।

गण्डकीबाट कुल २ सय ३० जना मतदाता छन् ।

देशभर १९ सिटका लागि सबै प्रदेशमा यतिखेर मतदान भइरहेको छ ।

तस्बिरहरुः विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width