‘चलचित्र विकास बोर्ड सञ्चार मन्त्रालयमा हरायो’

विजय नेपाल
माघ ८, २०८०
Sikless prakash subedi

सिक्लेस । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीले बोर्डमा गइसकेपछि आफूले सकेजस्तो काम गर्न नसकेको स्वीकारेका छन् । उनले चलचित्र विकास बोर्ड संचार मन्त्रालयमा हराएको अनुभव सुनाए ।

चलचित्र पत्रकार संघ कास्की आयोजनामा पर्यटकीय क्षेत्र सिक्लेसमा आयोजित सिने संवादमा ‘सरकार र सिनेमा: हिजो, आज र भोलि’ सेसनमा बोल्दै उनले सो कुरा बताएका हुन् । सेसनका सहजकर्ता संचारकर्मी प्रकाश सुवेदीको प्रश्नमा अभिनेता समेत रहेका बोर्ड अध्यक्ष केसीले भने, ‘नेपाली फिल्मको गन्तव्य कहाँ होला भनी खोज्न गएको थिएँ, बोर्ड त संचार मन्त्रालयभित्र हराएको रहेछ ।’ उनले बोर्ड जबसम्म स्वायत्त हुन सक्दैन, नेपाली फिल्मको विकास पनि हुन नसक्ने बताए । हालसम्म २०२६ सालको चलचित्र ऐन कार्यान्वयन रहेको भन्दै फिल्म ब्याक एण्ड ह्वाइडबाट कलरमा आइसक्दा पनि त्यही ऐन कार्यान्वयन हुनु दुःखद भएको बताए । नयाँ ऐन पारित गर्नका लागि आफूहरु लागिरहेको उनको भनाइ थियो ।

निर्देशक एवं कलाकार दीपाश्री निरौलाले सरकारले फिल्मलाई प्राथमिकतामै नराखेको गुनासो गरिन् । ‘चलचित्र भन्नेवित्तिकै रमाइलाको लागि हो भन्ने टिप्पणी छ । प्राथमिकताको रुपमा फिल्मलाई राख्नुपर्छ,’ उनले भनिन्, ‘जति हामीले सिकेका थियौ, त्यत्ति नै गरेर फिल्म बनाएका हौ । कलाकार, प्राविधिक लगायतलाई तालिमको जरुरी छ ।’ उनले भनिन्, ‘हामी दक्ष जनशक्ति उत्पादन गर्नुपर्छ । नेपाली फिल्म आउँछ जान्छ भन्ने हिसाबले हेर्ने हो भने नेपाली फिल्म ‘बंगलादेश’ हुन्छ भन्न सकिन्न । स्क्रिप्ट राइटरलाई बजेट छुट्याओस् । उनले बोर्ड अध्यक्ष केसीलाई काम गर्न अप्ठेरो भएको हो भने आफूहरुले सबै मिलेर सरकारलाई दबाब दिन तयार रहेको सुनाइन् ।

चलचित्र निर्माता संघका निवर्तमान अध्यक्ष एवं कलाकार आकाश अधिकारीले चलचित्र उद्योगलाई उद्योगमात्र ठानेर यसलाई सशक्त माध्यमको रुपमा सरकारले अघि बढाउनुपर्छ भनी आफूहरु लागिरेकोमा २०७६ सालमा राष्टिय प्राथमिकता उद्योगसम्म गएको बताए । उनले कुनै पनि चिजको नीति, ऐन र कानुन बन्नुअघि पानामा गएर ठोक्किन्ने गरेको बताए । राज्यले फिल्म क्षेत्र कर नै तिर्दैनन् भन्ने दृष्टिकोण छ । राज्यको निकायको आँखा खुलेको छैन । चलचित्र विकास बोर्डले आफ्नो भवन निर्माण गरेर विकास गरे पनि अरु विकास हुन नसकेको टिप्पणी गरे ।

हिन्दी फिल्म सहजै सेन्सर बोर्ड पास गरिरहँदा नेपाली फिल्म भारतमा सेन्सर बोर्डको झमेला रहेको संचारकर्मी सुवेदीको जिज्ञासामा बोर्ड अध्यक्ष केसीले सेन्सर बोर्डलाई चलचित्र विकास बोर्डमातहत ल्याउनुपर्ने बताए । उनले दोलखाको फिल्म सिटी अवधारणाको बारेमा प्रकाश पार्दै त्यो निर्माण हुन सके हलिउडको फिल्म सुटिङ गर्न सकिने बताए ।

यसैगरी, ‘सिनेमाभित्र म, मभित्र सिनेमा’ सेसनमा भुवन केसी र गौरी मल्लले आफ्नो विगत सुनाए । गौरीले आफ्नो पहिलो फिल्म ‘सन्तान’ इन्ट्रीदेखि केसीले आफ्नो डिभोर्सको कुरासम्म कहे । जसमा संचारकर्मी सन्जोक बस्यालले सहजीकरण गरेका थिए ।

‘नेपाली सिनेमाको स्वाद’ विषयक सेसनमा निर्देशक एवं कलाकार अनुप बराल, कलाकार दीया मास्के र निर्देशक मनोज पण्डितले नेपाली फिल्मले अझै खास स्वाद दिन नसकेको टिप्पणी गरे । निर्देशक मनोज पण्डितले यति धेरै स्वाद संसारमा आए, सबै ल्याउँदा कस्तो स्वाद बनेको हो ? थाहै छैन । फिल्मको स्वाद हस्पिटलको खानाको स्वादसँग दाँज्नुपर्ने अवस्था आयो । उनले फिल्मका पात्र निर्देशक र लेखकबाट गाइडेड भएको बताए । उनले भने, ‘नेपाली फिल्म आइ लव युभन्दा माथि उठेन । त्यसभन्दा माथि उठेर आई एम हुमन भन्ने कहिले आउँछ ?’

निर्देशक एवं कलाकार अनुप बरालले सिनेमालाई कहिले पनि आफूले मनोरञ्जनको रुपमा नरहेको र यो चेतना हो भने । उनले भने, ‘नेपाली सिनेमाले जसरी फड्को मार्नु पर्ने हो, त्यसभन्दा हामी पछाडि छौं ।’ उनले पैसा, साधनमात्र ठुलो कुरा भन्छौं, त्यो होइन । तपाई कसरी कोअर्डिनेट गर्नुहुन्छ ? त्यसमा भर पर्छ भने ।

हाम्रो फिल्म धेरैसम्म हिन्दी फिल्मको फोटोकपी हो भन्दै कलाकार दीया मास्केले  ‘६० वर्ष लामो नेपाली फिल्मको इतिहासमा पनि यो हुनु गलत हो । सिनेमाले देखाउने स्टोरीको कुरा गर्नुपर्छ,’ भनिन् । उक्त सेसनमा सहजकर्ता थिए, पत्रकार सुरज सुवेदी ।

निर्देशक, लेखक, अध्येता प्रकाश सायमीले ‘व्यवसाय र कला : प्रविधि र प्रवृत्ति’ बारे आफ्नो विचार व्यक्त गरे । उनले सिनेमामा ६२ वटा कला मिश्रण हुने बताउँदै यो निकै महत्वपूर्ण विधा हो भने ।

कार्यक्रममा सिक्केसवासीको उल्लेख्य उपस्थिति थियो । सिनेमा, पर्यटन र साहित्यको विकासका लागि चलचित्र पत्रकार संघ कास्कीले पर्यटकीय गाउँहरुमा यसप्रकारको कार्यक्रम गर्दै आएको संघ अध्यक्ष प्रभू अधिकारीले बताए । संघले यसअघि कास्कीको घान्द्रुक र घलेलमा यस्तै प्रकृतिको कार्यक्रम गरेको संघ सचिव सन्तोष बस्यालले बताए ।

मादी १ का वडाध्यक्ष देवीजंग गुरुङले सिक्लेसमा नेपाली फिल्मका अग्रजलाई पाउनु आफूहरुको लागि अहोभाग्य हो भने । सिनेमा क्षेत्रमार्फत यसको सिक्लेसको घुम्टो उघारिनेछ भन्ने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै