आर्मी खेल जितेर पनि बाहिरियो, साविक विजेता गण्डकी सेमीमा

धनबहादुर गुरुङ
माघ ४, २०८०
Tiger Cup 4 day Photo

पोखरा। चौथो टाइगर कप भलिबल प्रतियोगिता–२०८० मा पुरुषतर्फ लिगको अन्तिम खेल जितेर पनि त्रिभुवन आर्मी क्लब प्रतियोगिताबाट बाहिरिएको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा सञ्चालित प्रतियोगिताअन्तर्गत बिहीबार आर्मीले गण्डकीलाई ३–२ सेटले पराजित गर्दा पनि घरेलु टिम सेमिफाइनल प्रवेश गरेको छ । पहिलो दिनको अन्तिम खेलमा खराब प्रकाशका कारण आर्मी र गण्डकीबीच खेल २–१ को अवस्थामा स्थगित भएको थियो ।

बिहीबार आर्मीले पहिलो सेट २५–२० आफ्नो पोल्टामा पारेको थियो । गण्डकीले दोस्रो र तेस्रो सेट २०–२५ र १७–२५ ले जित्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । त्यसपछिको सेट भने लगातार आर्मीले जितेको थियो । चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले खेल जिते पनि आर्मी प्रतियोगिताबाट बाहिरिएको हो ।

समूह ‘ए’ मा रहेको आर्मी र गण्डकी सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धामा थिए । अघिल्लो दिनको खेलको नतिजाअनुसार गण्डकीसँग २ अंक थियो । बुधबारको खेलमा गण्डकीले हेल्प नेपाललाई ३–२ सेटमा हराउँदै दोस्रो स्थानमा थियो । सोही समूहको हेल्प नेपाल भने आर्मीलाई ३–१ पराजित गर्दै ३ अंक जोडेको थियो ।

गण्डकीले आर्मीसँग १ अंक लिएर ३ अंकसहित समूहको दोस्रो स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको हो ।

डिफेन्डिङ च्याम्पियन गण्डकीले सेमिफाइनलमा समूह ‘बी’ को विजेता एपिएफ क्लबसँग शुक्रबार दोस्रो सेमिफाइनल खेल्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस् क्लब भने समूह ‘बी’ को उपविजेता श्रीलंका आर्मी टिमसँग भिड्नेछ ।

शुक्रबार नै महिलातर्फ तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।

यता, महिलातर्फ साविक विजेता एपिएफ क्लब र चन्द्रागिरी न्यू डायमण्डबीच उपाधि भिडन्त पक्का भएको छ । शनिबार फाइनल हुनेछ ।

महिला तथा पुरुषतर्फ उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै