टाइगर कप तयारी पूरा, भारत र श्रीलंकाको टिम पनि खेल्ने

आदर्श समाज सम्वाददाता
पौष २९, २०८०
Tiger Cup

पोखरा रंगशालामा प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिरः विजय नेपाल

पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपाल आयोजनामा माघ १ देखि पोखरा रंगशालामा चौथो टाइगर कप हुँदैछ । प्रतियोगितामा भारत र श्रीलंकाको टिमले पनि भाग लिँदैछन् ।

माघ ६ सम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ६ गरी १२ टिमले भाग लिने संस्था अध्यक्ष नारायण शर्माले बताए । तीमध्ये पुरुषतर्फ श्रीलंकाको आर्मी टिम र महिलातर्फ भारतको हरियाणा कलबले प्रतिस्पर्धा गर्ने उनले बताए ।

लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा पुरुषतर्फ श्रीलंकाको आर्मी टिमसहित काठमाडौंको हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, विभागीय नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबले भाग लिने छन् ।

यस्तै, महिलातर्फ भारतको हरियाणा क्लब, चन्द्रागिरी नगरपालिका न्यु डायमन्ड महिला भलिबल टिम, घरेलु गण्डकी प्रदेश भलिबल संघसँगै विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबले भाग लिने छन् ।

गण्डकीको पुरुष र महिला टिममा ३/३ जना भारती खेलाडी पनि सम्मिलित छन् । तीमध्ये भारतीय राष्ट्रिय टिमका क्याप्टेन वीनितकुमार चौधरीसमेत मैदान उत्रिदैछन् । हेल्प नेपाल स्पोर्टस् क्लबबाट पाकिस्तानी राष्ट्रिय टिमका उपाध्यक्ष क्याप्टेन मोहमद कासिवसहित ३ पाकिस्तानी खेलाडी र भारतको हरियाणा महिला टिमको नेतृत्व भारतीय राष्ट्रिय महिला टिम क्याप्टेन मिनिमोल अब्राह्मले गर्दै छिन् ।

पुरुष र महिला दुवैतर्फ विजेताले ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ प्राप्त गर्ने छन् । तेस्रोले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने प्रचारप्रसार संयोजक इन्द्रप्रसाद पौडेलले बताए ।

सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई जनही २५ हजार ५ सय ५५ सहित सिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै