एसओएस गण्डकीमा खेलकुद दिवस

आदर्श समाज सम्वाददाता
पौष १९, २०८०
Sports Meet1

पोखरा । पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर विद्यालय गण्डकीको ४० औं खेलकुद दिवस बिहीबार सुरु भएको छ । ३ दिन चल्ने कार्यक्रम एसओएस बालग्राम नेपालका राष्ट्रिय निर्देशक डा. गंगाबहादुर गुरुङले उद्घाटन गरे ।

डा. गुरुङले समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै एसओएसले निश्चित मूल्यमान्यतासहित राष्ट्रको गुणस्तरीय शिक्षामा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । २ दशकअघि आफू एसओएस गण्डकीमा रहँदाको क्षणको स्मरण गर्दै गुरुङले शैक्षिक उत्कृष्टताका क्षेत्रमा विद्यालयले विगतदेखि वर्तमानसम्म कायम राखेको गरिमा र प्रतिष्ठाप्रति सराहना व्यक्त गरे । ‘गुणस्तरीय शिक्षासँगै खेलकुद पनि विद्यार्थीको सर्वांगीण विकासको अर्काे महत्त्वपूर्ण पक्ष हो,’ डा. गुरुङले भने, ‘विश्वका १३७ देशमा विस्तार भएको एसओएसले स्थापनाकालदेखि नै विद्यार्थीको असल आचरण र संस्कारसँगै खेलकुदलाई पनि संस्कृतिका रूपमा विकास गर्दै आइरहेको छ ।’

एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रधानाध्यापक चूडामणि सुवेदीले स्वागत गरे । प्रधानाध्यापक सुवेदीले नियमित शिक्षण सिकाइ क्रियाकलापसँगै बालबालिकाको शारीरिक तन्दुरुस्ती र संवेगात्मक सन्तुलित विकासका लागि विद्यालयले विद्यार्थीहरूका बीचमा प्रत्येक वर्ष प्रतियोगितात्मक खेलकुद कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

एसओएस बालग्राम पोखराका परियोजना निर्देशक लोब्स्याङ ग्याल्ट्सेन, गण्डकी बोर्डिङ स्कुल पोखराका प्राचार्य वीरेन्द्र खड्का, एसओएस स्कुल पोखराका प्राचार्य फुर्बू थिन्लेलगायतको सहभागिता थियो ।

विद्यालयका खेलकुद शिक्षक दीपकबाबु नेपालीले चार सदन कप्तानहरूलाई शपथग्रहण गराई ४० औँ खेलुकद दिवसको शुभारम्भ गरे । खेलकुद दिवसको समुद्घाटन समारोहमा विभिन्न दूरीका दौड, रिले दौड, लङजम्पलगायतका अन्तरसदनात्मक खेलहरू सम्पन्न भएका थिए । विद्यार्थीहरूको शारीरिक कवाज प्रदर्शनी पनि समुद्घाटन समारोहको अर्काे आकर्षण थियो । खेलकुद समारोहमा विद्यालयमा गठित विभिन्न सदनमा आबद्ध विद्यार्थीहरूले राष्ट्रिय गीतको धुनमा सुसज्जित मार्च पास्डका साथै विविध लोकसांस्कृतिक नृत्य पनि प्रदर्शन गरेका थिए । खेलकुद अवधिभरि हुने सम्भावित दुर्घटनाबाट खेलाडीहरूलाई सुरक्षा प्रदान गर्ने उद्देश्यले भूतपूर्व विद्यार्थीहरू सम्मिलित चिकित्सकहरूको एक समूहले विद्यालयमै आकस्मिक स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रदान गरेका थिए ।

प्रतियोगितात्मक खेलअन्तर्गत चार सय मिटर रिले दौडमा गौरीशंकर सदनका मनीता कार्की, ललिता मल्ल, सुमिता कार्की र विनीता लामिछानेले प्रथम तथा अन्नपूर्ण सदनका लीला पुरी, अपेक्षा केसी, विमला पुरी र सारिका दर्जीले द्वितीय स्थान हासिल गरे । प्रारम्भिक चरणका विजयी विद्यार्थीहरूलाई कार्यक्रमका प्रमुख अतिथि डा. गंगाबहादुर गुरुङ, एसओएस बालग्राम गण्डकीका परियोजना निर्देशक प्रदीपभक्त आचार्य तथा विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले संयुक्त रूपमा प्रमाणपत्र, पुरस्कार तथा पदक प्रदान गरे । तीन दिनसम्म सञ्चालन हुने विद्यालयको खेलकुद समारोहमा आधारभूत र माध्यमिक तहका लागि छुट्टाछुट्टै खेलहरू सञ्चालन हुनेछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width