मानसिक स्वास्थ्यमा संघ र प्रदेश सरकारको बेवास्ता

आदर्श समाज सम्वाददाता
मंसिर २६, २०८०
Kosish Nepal Photo

पोखरा । मानसिक स्वास्थ्यको क्षेत्रमा संघ र प्रदेश सरकारले बेवास्ता गरेको एक कार्यक्रमका वक्ताले बताएका छन् । कोशिश नेपालको आयोजनामा भएको स्थानीय तहका लागि सामुदायिक मानसिक सुस्वास्थ्य कार्यक्रम सञ्चालन मार्गदर्शन निर्माणका लागि पोखरामा भएको गोष्ठीमा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीले मानसिक स्वास्थ्यका क्षेत्रमा स्थानीय तह मात्र अग्रसर भएर लागेको बताएका हुन् ।

सरकारले यस विषयमा राज्यले नै स्पष्ट नीति बनाउन नसकेको लमजुङको मध्यनेपाल नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सूर्य पौडेलले बताए । ‘मनोसामाजिक र मानसिक स्वास्थ्यका विषयमा राज्यबाट नै नीतिगत रुपमा सेवा प्रवाह भएको देखिँदैन,’ उनले भने, ‘कोशिश नेपालले यसमा काम गरिरहेको छ । यो संस्थासँग हामी प्रत्यक्ष जोडिएकाले केही काम स्थानीय तहमा भएका छन् । प्रदेश र संघबाट दिवस मनाउनु भनेर चिठी मात्र आउँछ । यो बाहेक नीतिगत कुरा भएको देखिँदैन ।’

नीति नबन्दा मानसिक स्वास्थ्यको औषधि खरिद गर्नका लागि समस्या परेको उनले बताए । ‘मानसिक औषधी लिस्टमै थिएन । अनि हामीले किन्दा महालेखाको बेरुजु पर्ने देखियो,’ उनले भने, ‘यही कारण पनि नीति बनाएर यति औषधी किन्न पाउने/नपाउने भनेर तोकिन जरुरी छ ।’

मानसिक स्वास्थ्यका क्षेत्रमा स्थानीय तह मात्र अग्रसर भएर लागेको जनप्रतिनिधि तथा कर्मचारी बताउँछन्

म्याग्दे गाउँपालिकाका प्रमुख श्रीप्रसाद श्रेष्ठले यो क्षेत्रमा स्रोतको सुनिश्चिताका विषयमा जानकार नभएको बताए । छुट्टै नीतिको आवश्यक रहेको समयमा राज्यले यतातर्फ ध्यान नदिएको उनको भनाइ थियो । ‘कार्यक्रम गर्नका लागि स्रोतको सुनिश्चितता गर्ने कहाँबाट हो ? समस्या यहाँ छ,’ उनले भने, ‘बजेटमा संघीयता नआउँदा पनि समस्या छ ।’

कोशिश पोखराका कार्यक्रम संयोजक सुदीप घिमिरेले मार्गदर्शन निर्माण भएपछि स्थानीय तहका लागि सामुदायिक मानसिक सुस्वास्थ्य कार्यक्रम सञ्चालन गर्न सहज हुने बताए । मार्गदर्शन निर्माणका लागि पहिलो चरणको गोष्ठी सकेर दोस्रो चरणमा जुटेको उनको भनाइ थियो । उनका अनुसार पहिलो चरणमा फिदिम नगरपालिका, जनकपुर उपमहानगरपालिका र पोखरा महानगरपालिकामा छलफल भइसकेको छ ।

पोखरामा भएको छलफलमा तनहुँ, लमजुङ र गोरखाका जनप्रतिनिधि र कर्मचारीहरु उपस्थित थिए । कोशिशकी संगीता खड्काले अघिल्ला वर्षमा भएका गतिविधिबारे जानकारी गराएकी थिइन् ।

स्थानीयस्तरमा मानसिक स्वास्थ्य गतिविधिको योजना र कार्यान्वयनमा पालिकाहरुलाई मार्गदर्शन गर्न प्राविधिक पुस्तिका विकास गर्नु कोशिशको उद्देश्य रहेको उनले सुनाइन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. फडिन्द्र बरालले सरकार मानसिक स्वास्थ्यमा गम्भिर रहेको बताए । यसका लागि राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति र कार्ययोजना–२०७७ तयार गरेर कार्य गरिरहेको उनले सुनाए । कोशिशले ७ सय ५३ वटै स्थानीय तहमा बजेट छुट्याउँदा र कार्यक्रम गर्दा कस्तो मोडालिटीमा तयार गर्ने भन्ने विषयमा सहयोग पु¥याउन विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा मार्गदर्शन तयार गरिहेको उनले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै