प्राडा न्यौपानेलाई लोकसाहित्य सम्मान

आदर्श समाज सम्वाददाता
मंसिर २५, २०८०
kusumakhar

पोखरा । तुलसीमान श्रेष्ठ स्मृति समाज काठमाडौंले पोखरा निवासी प्राडा कुसुमाकर न्यौपानेलाई सम्मान गरेको छ । मंसिर २३ गते नेपाल प्रज्ञाप्रतिष्ठानको सभाकक्षमा विशेष कार्यक्रम गरी प्राडा न्यौपानेलाई तुलसीमान श्रेष्ठ स्मृति लोकसाहित्य सम्मानद्वारा पुरस्कृत गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव प्राडा. तुलसी भट्टराईले न्यौपानेलाई सम्मान गरेका हुन् ।

प्रतिभा परिचय नेपाल संस्कृत विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा कुलप्रसाद कोइरालाले गराएका थिए । स्वागत मन्तव्य डा. बद्रीविशाल भट्टराईले गरेको कार्यक्रमको अध्यक्षता सीताराम अधिकारीले गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्व प्राडा न्यौपानेले यस पुरस्कारले आफूलाई लोकसंस्कृतिको जगेर्नामा जुट्न थप प्रेरणा मिलेको बताए ।

यसअघि उक्त सम्मान सत्यमोहन जोशी, प्राडा चूडामणि बन्धु, तुलसी दिवस लगायतलाई प्रदान गरिएको छ ।

पर्वत पैयुँ–६, डाँडाकाहुँमा जन्मेका न्यौपानेले विसं २०४५ सालदेखि त्रिवि अन्तर्गत पोखराका विभिन्न क्याम्पस तथा शैक्षिक संस्थामा प्राध्यापन गरे । सेवा निवृत्त उनी हाल अनुसन्धान तथा लेखन कार्यमा निरन्तर क्रियाशील छन् । उनका कास्की जिल्लामा प्रचलित लोकगीतमा वृक्ष, वनस्पति र वन (२०४९), गोपीचन लोकनाटक (२०६५), लोकरामायण (२०६५), कस्केली जातजाति र उखान (२०६९), दशावतार बालन लोकनाटक (२०६९), नेपाली लोकगीतका सन्दर्भ (२०७०), नेपाली लोकगीत (२०७०) लगायतका अनुसन्धानमूलक पुस्तक प्रकाशित छन् ।

न्यौपानेले शिक्षादिवस पदक (२०५६), प्रतिभा पुरस्कार (२०६७), सिर्जनशील काजी रोशन साहित्यिक पुरस्कार (२०६७), अनेसास रतन झा स्मृति उत्कृष्ट पुरस्कार नेपाल विद्याभूषण क (२०६८), अनेसास हरिभक्त कटुवाल स्मृति सर्वाेत्कृष्ट पुस्तक पुरस्कार, साझा लोकसाहित्य पुरस्कार, त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक, गीताञ्जली साहित्य रत्न पुरस्कार लगायतका पुरस्कारका साथै दर्जनौं सम्मान पनि प्राप्त गरिसकेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width