केपी कपमा आर्मीद्वारा आयोजक पराजित

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
kp oli cup main

पोखरा । आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी आयोजनामा पोखरा रंगशालामा जारी केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा सोमबारको खेल विभागीय त्रिभुवन आर्मी क्लब र मधेश प्रदेशले जितेका छन् ।

आयोजक मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘नीलो’ लाई आर्मीले ११० रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी सुरुआत ग¥यो । १९६ रनको विशाल रनको लक्ष्य पाएको आयोजक १५.४ ओभरमा ८५ रनमा समेटिन पुगेको हो ।
त्यसअघि, आर्मीले पूरै २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १९५ रनको योगफल तयार पारेको थियो । सन्तोष कार्कीले ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । ३५ बलको सामना गरेका उनी धवन सहनीको बलमा आउट भए ।

विनोद भण्डारीले २४ बलमा ३ चौका र ३ छक्का मद्दतमा ३८ रन बनाए । प्लेयर अफ दि म्याच कुशल मल्लले २५ रन जोड्दा वासिर अहमदले २३ र रोहित पौडेलले १२ बनाउन सके । अर्का ब्याट्सम्यान सन्दीप रजाली र भीम सार्की नटआउट खेल्दै समान ६–६ रन बनाए । मदन भण्डारी स्पोर्टस्का लागि मेहुल श्रेष्ठले २ विकेट लिँदा शुभम खनालले १ विकेटमात्र झार्न सके ।

आर्मीका कुशल मल्लले मात्र २ रन खर्चिदा ३ विकेट हात पारे । उनले सिमोन रोय, कुशल रुपाखेती र डायमण्ड मण्डललाई पेभिलियन फर्काएका हुन् । आयोजकका लागि निर्भीक पाठकले २८ रन बनाउँदै रन आउट खेले । रणवीर यादवले १६ रनको व्यक्तिगत योगदान दिँदा ओपनर रोनिम तिवारीले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र साहव आलमले समान २–२ विकेट लिँदा रोहित पौडेल र विवेक यादवले १ विकेट हात पारे ।

अर्को खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको छ । मात्र ५८ रनको लक्ष्य पाएको मधेशले २ विकेटको क्षतिमा ९२ बल बाँकी रहँदै पूरा गरेको हो ।

सुदूरपश्चिमले १५.५ ओभर खेल्दै ५८ रनमा अलआउट हुन पुगेको थियो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फकिंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै १ रनमा पभेलियन फर्किए । वसन्त कार्कीले ४ रन बनाउँदा किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिँदा भोजराज भाट १० रनमा सीमित भए ।

मधेश प्रदेशका हरिशंकर साहले सर्वाधिक ४ विकेट लिए । रुपेश सिंहले ३ विकेट लिँदा अनिल साहले १ विकेट लिए ।

मधेश प्रदेशले मात्र २ विकेट गुमाउँदै लक्ष्य पूरा गर्न सफल भएको हो । ३ बल सामना गरेका प्लेयर अफ दि म्याच हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरेपछि मधेश दबाबमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनाए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी रहँदा नटआउट खेले ।

मंगलबार सुदूरपश्चिम र नेपाल पुलिस तथा अर्को खेल कोशी प्रदेश र त्रिभुवन आर्मीबीच हुनेछ ।

…..
तस्बिरः योगेन्द्र श्रेष्ठ

Related News

सम्बन्धित समाचार

hero news full width