हिसान स्पोर्टस् मिटमा ८ हजार विद्यार्थी

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०८०
Hisan kaski

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान), कास्की आयोजनामा १४ मंसिरदेखि १६ औं हिसान स्पोर्टस् मिट हुँदैछ । पोखरा रंगशालामा ४ दिनसम्म चल्ने मिटअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालयतर्फ गरी ४ विधामा खेल हुने छन् ।

हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस् मिट संयोजक डा. रामजी शर्माका अनुसार यसले युवा खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

छात्रछात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल टेनिसका प्रतिस्पर्धा हुनेछन् । मावि तह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने हिसान कास्की अध्यक्ष यामबहादुर रोकाले बताए ।

छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता छ भने छात्रातर्फ १५ टिम भिड्नेछन् । टेबुल टेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्रछात्रा सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन् भने व्याडमिन्टन छात्रछात्रातर्फ २४ विद्यालयका ३ सय १२ प्रतिस्पर्धीको सहभागिता रहने छ । विश्वविद्यालयतर्फ बास्केटबलमा ९ वटा शैक्षिक संस्थाहरुले भाग लिएका छन् ।

हिसान कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आबद्धता ७२ मध्ये ६२ शिक्षण संस्थाले स्पोर्टस् मिटमा सहभागिता जनाउने छन् । जसमा ८ हजारभन्दा बढी विद्यार्थीको सहभागिता हुने प्रचार संयोजक डिल्लीराम अर्यालले बताए ।

प्रतियोगिताको लागि करिब २० लाख खर्च हुने आयोजकको अनुमान छ । विजेतालाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतिभा मावि साविक विजेता हो ।

Related News

सम्बन्धित समाचार

hero news full width