यस वर्ष कम फल्यो सुन्तला

भवानी अधिकारी
मंसिर ९, २०८०
suntola

स्याङ्जा । यस वर्ष स्याङ्जामा सुन्तला उत्पादन घटेको छ । अघिल्लो वर्ष तुलनामा यस वर्ष करिब २० देखि २५ प्रतिशतले कम सुन्तला उत्पादन भएको किसानले जनाएका छन् ।

गत वर्ष अत्याधिक उत्पादन भएकोले यस वर्ष सुन्तला उत्पादन कम भएको किसानको भनाइ छ । स्याङ्जामा १ वर्ष अत्याधिक सुन्तला उत्पादन हुने र अर्को वर्ष कम फल्ने गरेको विगतको अनुभव छ ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसपालि १७ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको किसान र सुन्तलाका क्षेत्रमा कार्यरत सरकारी कार्यालयको प्रारम्भिक आकलन छ ।
सुन्तला उत्पादनमा कम भए पनि मूल्यमा भने कम नहुने प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन परियोजनका अध्यक्ष तारा अर्यालको भनाइ छ ।

सुन्तला किसान समेत रहेका अध्यक्ष अर्यालले भने, ‘गत वर्ष भन्दा मेरो बगैंचामा पनि २५ प्रतिशतले कम फले ।’ उनका अनुसार यस वर्ष सुन्तलाको मूल्य राम्रो छ । गत वर्ष यो मौसममा ३५ रुपैयाँ प्रतिकिलो बेचेकोमा अहिले ४० रुपैयाँमा बिक्री भइरहेको छ । साथै यसपालि सुन्तलाका दाना ठूला, स्वादिला र पहेंलो रंग भरिसकेका छन् ।

जिल्लाभर २२ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिन्छ । तीमध्ये १ हजार ३ सय हेक्टर उत्पादनशील बगैंचा छन् भने ३ हजार ५ सय जना सुन्तला व्यवसायी किसान छन् ।

जिल्लाका ११ पालिकाका ९७ वडामध्ये ५/७ वडा बाहेक सबै वडाहरुमा सुन्तलाको उत्पादन राम्रो रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण सुन्तला सुपरजोन कार्यालयका प्रमुख माधव लम्सालले बताए ।

लम्सालका अनुसार २०७३ सालमा सुन्तला जोन सञ्चालनको स्वीकृत पाएको स्याङ्जामा २ वर्षपछि १७ वडामा सुपरजोन परियोजना लागु भएको थियो ।

अघिल्लो २ वर्षदेखि भने जिल्लाभर परियोजना समेटिएको छ । सबै ठाउँमा सुन्तलाको उत्पादन हुने भएकाले ब्लक, पकेट कार्यक्रममार्फत जिल्लाभर समेटिएको कार्यालयले जनाएको छ ।

गत वर्ष २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यसपालि १७ हजार मेट्रिक टन

परियोजनाले सुन्तलारोपण र उत्पादनमा जोड दिँदै यसका लागि वनजंगल फडानीदेखि सुन्तला रोपण, स्याहार सम्भार, खाद्य पोषण लगायतसम्मका गतिविधि र उपकरण खरिदमा राज्यले ५० प्रतिशतसम्म अनुदान सुविधा समेत उपलब्ध गराउँदै आएको छ ।

गत वर्ष स्याङ्जामा झण्डै २२ हजार मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । त्यसबेला सवा १ अर्ब मूल्य बराबरको सुन्तला फलेका थिए । सुन्तला उत्पादनका लागि उपयुक्त भूगोल भएका कारण जिल्लाको मुख्य उत्पादन पनि सुन्तला बनेको छ ।

सुन्तलाबाटै बर्सेनि करोडौं रुपैयाँ भित्रयाइन्छ यहाँ । साथै यहाँका पाखा, पखेरा र खेत बारीका गह्रामा सुन्तला झुलेका छन् । हिजोआज सुन्तला पाकेर पहेंला भएका छन् ।

बिरुवा रोपेको ५ देखि ७ वर्षभित्रमा फल दिने हुँदा किसानको विशेष रुची सुन्तला खेतीमा हुन्छ ।

वर्षको २/४ पटक आएर मल, जल, गोडमेल गरेपछि सुन्तलाले राम्रो उत्पादन दिन्छ । बर्सेनि ५ देखि ३० लाख रुपैयाँसम्म नगद आम्दानी गर्ने दर्जनौं किसान यहाँ छन् । प्रायजसो सबैका घरघरमा सुन्तलाका बिरुवा छन् । स्थानीय पालिकाले पनि सुन्तलालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ ।

पुतलीबजार, वालिङ, भिरकोट, चापाकोट, गल्याङ नगरपालिकाका अधिकांश वडामा सुन्तला खेती हुन्छ । दहथुम, अर्जुनचौपारी, एलादी, मनकामना, खिलुङ देउराली, ठूलाडिही, फापरथुम, बहाकोट, ओरस्टे, पौवेगौडे लगायतका वडा सुन्तला उत्पादनका मुख्य पकेटक्षेत्र हुन् । तर, केही वडाबाहेक जिल्लाभर सुन्तला खेती अत्यन्तै राम्रो हुन्छ ।

स्याङ्जामा आन्तरिक रुपमा कात्तिक अन्तिम सातादेखि नै सुन्तला खरिद बिक्री सुरु हुन्छ । सुन्तला व्यापारी अहिले बगैंचामा पुगिसकेका छन् । यहाँका सुन्तलाको मुख्य बजार पोखरा, बुटवल, नारायणघाट, काठमाडौं हो । केही किसानले पोखरा र बुटवलका बजारमा पुर्‍याएर थोक बिक्री गर्ने गर्दछन् ।

Related News

सम्बन्धित समाचार

hero news full width