भानुको घर जलेको २० वर्ष बित्यो,अझै भएन पुनःनिर्माण   

आदर्श समाज सम्वाददाता
मंसिर २, २०८०
bhanu janmasthal

तनहुँ । राष्ट्रिय विभूति भानुभक्त आचार्यको जन्मघर जलेको बीस वर्ष वितेपनि अझै पुनःनिर्माण हुनसकेको छैन । भानु नगरपालिका–४ चुँदीरम्घामा जन्मिनु भएका आचार्यको योगदानलाई कदर गर्दै पुनः निर्माण गरिएको घर आगोले जलेर ध्वस्त भएपछि बनाउन नसकिएको हो । उहाँको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल बनाउने भनेर पुनःनिर्माण गरेको घर विसं २०६० वैशाख १० गते जङ्गलमा आगलागी हुँदा जलेर पूर्ण नष्ट बनेको थियो ।

भानुभक्त जन्मेको घर जहाँ बसेर उहाँले काव्य रचना गर्नुभएको थियो । अहिले त्यो घर भग्नावशेष अवस्थामा रहेको भानुभक्तका पनाति श्रीभक्त आचार्यले बताउनुभयो । भानुको जन्मघर हेर्ने चाहना राखेर भानुजन्मस्थल पुग्ने जो कोही मानिस खिन्न भएर फर्किने गरेको उहाँले बताउनुभयो । भानुको घरको पुनःनिर्माण नहुनु भनेको चुँदीरम्घा, कला, साहित्य र भानुभक्तप्रति अपमान भएको हो कि भन्ने आशङ्का उब्जिएको छ ।

केही वर्षअघि भानुजन्मस्थल चुँदीरम्घामा गरिएको अन्तर्राष्ट्रिय कवि सम्मेलनमा भाग लिएका स्वदेश तथा विदेशका कवि भानुको जलेको घर देख्दा अधिकांश कविको आँखा रसाएको गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँका अध्यक्ष आकाश अधिकारीले स्मरण गर्नुभयो ।

विसं २०५५मा आदिकवि भानुभक्त नामक नेपाली चलचित्र बनाउने क्रममा भानु जन्मस्थल विकास समितिले आचार्यको घर पुनःनिर्माण गरेको थियो । तत्कालीन समयमा रु एक लाख २६ हजार नौ सय ९५ मा बनाइएको घरलाई खण्डहर बनेको लामो समय वितिसक्दा पनि पुनःनिर्माण हुनसकेको छैन । नेपाली भाषा दयनीय हुँदै गएको र विदेशी संस्कृतिको हस्तक्षेप बढिरहेको अवस्थामा सरकारले यो क्षेत्रको विकास गरेर नेपाली भाषाको जगेर्ना गर्नुपर्ने स्थानीयवासी बताउँछन् ।

एउटा घर बनाउन सङ्घ तथा प्रदेशको मुख ताक्नुपर्दैन भानुकै नामबाट बनेको भानु नगरपालिकाले बनाउन नसक्नु लज्जास्पद कुरा भएकोे भानु नगरपालिका–५ पुरनडिही निवासी भरत पोख्रेलले बताउनुभयो । योगदानलाई संरक्षण गरी यस क्षेत्रलाई साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न राजनीतिभन्दा माथि उठ्न स्थानीय बासिन्दाले आग्रह गरेका छन् ।

भानुभक्तमाथि राजनीति नगरी उहाँले नेपाली भाषा र साहित्यमा पु¥याएको योग्दानलाई ओझेलमा पार्नु नहुने स्थानीयवासीको भनाइ रहेको छ । साहित्यिक पर्यटन विकास र साहित्यको माध्यमबाट आर्थिक विकास, सिर्जनशीलता अभिवृद्धि र जीवनयापनमा उल्लेख्य परिवर्तन ल्याउन सक्ने हुँदा जतिसक्दो चाँडो निर्माण कार्य अघि बढाउन आवश्यक देखिएको छ । भानु जन्मस्थलको वृहत्तर विकासका लागि समिति नै गठन गरिसकिएको भानु जन्मस्थल विकास समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताउनुभयो ।

उहाँका अनुसार समितिको मुख्य काम भानुको जन्मघरको संरक्षण,उहाँका रचनाको प्रचार अनि भानु क्षेत्रको विकास गर्ने भए पनि प्रयाप्त बजेट नहुँदा समितिले प्रभावकारी काम गर्न सकेको छैन ।

देउसीभैलोबाट सङ्कलित रकम मन्दिर निर्माणमा    

व्यास नगरपालिका–१२ कमलबारीस्थित सिद्धेश्वरी माध्यमिक विद्यालयले देउसीभैलोबाट सङ्कलित रकमले सरस्वतीदेवीको मन्दिर निर्माण गर्ने भएको छ । देउसीभैलोबाट सङ्कलन भएको रु दुई लाख तीन हजार सात सय त्रिचालिस मन्दिर निर्माणमा खर्चिने सो विद्यालयले जनाएको छ ।

उक्त वडाका देउराली, पालिङ, कमलबारी, बगैँचालगायतको स्थानमा देउसीभैलो खेलिएको सिद्धेश्वरी माध्यमिक विद्यालय संयोजक ज्ञानेन्द्र जिसीले जानकारी दिनुभयो । विद्यालय हाताभित्र सरस्वतीको मन्दिर निर्माण गर्ने उद्देश्यले नेपाली परम्परागत संस्कृतिको संरक्षण गर्दै विद्यार्थीलाई लिएर मनोरञ्जनका साथमा देउसीभैलो खेलिएको उहाँले बताउनुभयो । विद्यालय परिसरमा सरस्वती देवीको मन्दिर नभएकाले निर्माण गर्ने सोचका साथ रमाइलो गर्दै आर्थिक सङ्कलन गरिएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष फमबहादुर थापालगायत समितिका सदस्य, शिक्षक अभिभावक सङ्घका अध्यक्ष नन्दकुमारी विक, शिक्षकवर्ग, विद्यार्थी लगायतकाको सहभागिता रहेको थियो । त्यसैगरी जिल्लाको भानु नगरपालिका–९ स्थित कर्मदा माध्यमिक विद्यालयले विद्यालयमा ट्रष्ट निर्माणका लागि देउसीभैलो खेलेको छ । तीन दिनसम्म खेलिएको देउसीभैलोबाट रु चार लाख बढी रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक सञ्जयकुमार विकले जानकारी दिनुभयो । विद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको देउसीभैलोमा सक्रिय सहभागिताले थप ऊर्जा मिलेको उहाँले बताउनुभयो । रासस

Related News

सम्बन्धित समाचार

hero news full width