आइएनएफ नेपालको ७१ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
मंसिर १, २०८०
INF day

पोखरा । आइएनएफ नेपालको ७१ औं वार्षिकोत्सव कार्यक्रम एक विशेष समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नेपालमा स्वास्थ्य सेवाका लागि अग्रणी संस्था आइएनएफ, ग्रामीण समुदायमा स्वास्थ्य सेवा प्रदान गर्ने, जीविकोपार्जनमा सहयोग गर्ने र सामाजिक समावेशीतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेलेको तथ्य उजागर गर्दै पोखरालाई स्वास्थ्यको हिसाबले समृद्ध बनाउन आगामी दिनमा आई एन एफ नेपालसंग सहकार्य गरि अघि बढ्ने प्रतिवद्घता व्यक्त गरे ।

आइएनएफ नेपालका अध्यक्ष रामचन्द्र तिमोथीले अग्रजको योगदानसहित गर्बिलो इतिहास बोकेको संस्थाले आफ्नो गरिमालाई उच्च राख्न निरन्तर अथक प्रयास गर्दै आएको तर्फ जोड दिए ।
कार्यक्रममा उद्घाटन मन्तव्य बोर्ड सल्लाहकार डा. दीपेन्द्रकुमार गौतम र स्वागत मन्तव्य बोर्ड उपाध्यक्ष राजेन्द्रकुमार अधिकारीले राखेका थिए । आइएनएफ नेपालका गतिविधि र दीर्घकालीन योजनाका बारेमा कार्यकारी निर्देशक कृष्ण अधिकारीले प्रकाश पारेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका १ का वडाध्यक्ष साहारा प्रधान, १५ का वडाध्यक्ष तोरणबहादुर बानिया, गैसस महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदी, पोखरेली ख्रीष्टीय समुदायका अध्यक्ष रामप्रसाद शर्मा, आइएन एफ इन्टरनेसनल बोर्डका अध्यक्ष फिल लिन्जे थिए ।

त्यसैगरी कार्यक्रममा डा. सर्ली हेउडलाई ११ औं स्वास्थ्य अर्वाड नेपाल विजेता भएकामा तथा डा. शुभेच्छा देवा श्रेष्ठलाई फिगो अर्वाड युके विजेता भएकामा सम्मान गरिएको थियो । त्यस्तै, ओबिई इन द किङ्स न्यु यिएर अर्बाड, युकेद्वारा सम्मानित भएकामा डा. माइकल स्मिथ तथा इकेएफ डेभलपमेन्ट कर्पाेरेसन इन मेडिसिन अर्वाड, जर्मनी विजेताद्वय दोरथीदास परियार र थमबहादुर गुरुङलाई सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुका बारेमा स्वास्थ्य सेवा निर्देशक डा. अरुण कुमार बुढाले जानकारी गराए ।

कार्यक्रममा विसं २०७७ पछि अवकाश प्राप्त कर्मचारीलाई कदरपत्र प्रदान गरिनुका साथै खेलकुद सप्ताहका विजेतालाई पुरस्कार वितरण गरिएको थियो । हरियोखर्क अस्पतालका कर्मचारीद्वारा विविध सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरिएको कार्यक्रम सञ्चालन कर्मचारी धनमाया गुरुङले गरेकी थिइन् ।

विसं २००९ सालमा स्थापित आइएनएफले नेपाल सरकारसँग हातेमालो गर्दै कुष्ठरोग तथा क्षयरोगको क्षेत्रमा योगदान पु¥याउदै आइरहेको छ । संस्थाले सामुदायिक स्वास्थ्य र विकासका क्षेत्रमा हरियोखर्क अस्पताल लगायत तीन अस्पतालसँगै बाजुरा, मुगु, जुम्ला, कालीकोट, सुर्खेत, बाँके, दाङ, रोल्पा, कपिलवस्तु, कास्की र गोरखा जिल्लाहरुमा अविछिन्न रुपमा सेवा प्रदान गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width