कांग्रेसका युवा नेता अविनाश गौचनको निधन

आदर्श समाज सम्वाददाता
भाद्र १३, २०८०
Abinash Gauchan

पोखरा । नेपाली कांगे्रेसका युवा नेता अविनाश गौचनको निधन भएको छ । शौचालय गएका उनी धेरै समयसम्म बाहिर ननिस्केपछि परिवारले ढोका खोली हेर्दा उनी मृतावस्थामा भेटिएका थिए । उनको केही दिन अघि शल्यक्रिया गरेको र शौचालय गएका बेला अत्यधिक रक्तश्रावका कारण मंगलबार निधन भएको परिवारले जनाएको छ ।

दायाँ तिघ्राको नसामा समस्या देखिएपछि ४ वर्ष अघि अपरेसन भएको थियो । त्यही समस्या बल्झेपछि गत असार पुन अपरेसन गरिएको थियो । अपरेसन गरेकै ठाउँबाट अत्यधिक रक्तश्राब भएको हो । उनको बुधबार थकाली परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । नदीपुरस्थित थकाली सेवा समितिमा मृत्युसंस्कार गरिने आफन्तले बताएका छन् ।

अन्त्येष्टि अगाडि उनको शवमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेस गण्डकी सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाए । पूर्व मन्त्री एवं अविनाशका काका रोमी गौचन थकाली, प्रतिनिधि सभा सदस्य योगेश गौचन थकाली, कांग्रेसका प्रदेशस्तरीय र जिल्लास्तरीय नेता, एवं कार्यकर्ता ड्यामसाइडस्थित निवासमा आयोजित श्रद्धाञ्जली सभामा उपस्थित थिए ।

३८ वर्षे अविनाश मुस्ताङमा कांग्रेसको संगठन विस्तारमा निकै क्रियाशील थिए । मुस्ताङबाट निर्वाचित प्रदेश सभा सदस्य विकल शेरचनले भने,‘अविनाश तरुण दल र कांग्रेसको संगठनका दरिलो खम्बा थिए, युवामाझ रुचाइएका अझ भनौं मुस्ताङी युवाको ढुकढुकी थिए ।’ अविनाश कांग्रेस नेता वसन्त गौचनका छोरा एवं रोमी गौचनका भतिजा हुन् । वसन्तको केही वर्षपहिला निधन भइसकेको छ । अविनाशकी आमा, पत्नी र ४ वर्षे छोरा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width