तालखोलामा महिना दिनमै फलामे पुल

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०८०
Talkhola pul photo

हेमजा । पोखरा–३२, बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जीर्ण पुलमा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ ।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय तथा पोखरा महानगरपालिकाको लागत साझेदारीमा त्यहाँ पुल निर्माण भएको हो । तालखोलामा आवत जावत गर्न बनाइएको पक्की कल्भर्ट (ढलान गरिएको छोटो पुल) भत्किएपछि बडहरेका २ सय घरधुरी र ब्रह्मरुपा माध्यमिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु तीन वर्षयता जोखिम मोलेर आवत जावत गर्दै आएका थिए ।

नयाँ पुल बनेपछि जोखिमपूर्ण तवरले वारपार गर्नुपर्ने बाध्यता अन्त्य भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

बर्खायाममा तालखोलामा बाढी आउँदा खोलाबाट वारपार बन्द हुने गरेको थियो । पुलबाट खसेमा खोलाले बगाउने अवस्था थियो । १० लाखको लागतमा १८ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको पूर्वाधार विकास कार्यालय कास्कीका प्रमुख डा.महेन्द्रबहादुर बानियाले जानकारी दिए ।

त्यहाँ फलामको ट्रस पुल बनाएर फिट गर्ने काम सकिएपछि आवत जावतका लागि प्रयोग भएको छ । पुलको दायाबायाँ साइडबार राख्न भने बाँकी छ । पुल निर्माणमा भौतिक मन्त्रालयको ६० र महानगरको ४० प्रतिशत लगानी भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले गत साउन १४ गते सो ठाउँको स्थलगत निरीक्षण गरी १० दिनभित्र पुल निर्माण गर्न पूर्वाधार विकास कार्यालय कास्कीलाई निर्देशन दिएका थिए । झरी र वर्षात्को समयमा वेल्डिङ गर्न नपाउँदा केही दिन ढिलाई गरि पुल जडान सकिएको हो ।

मन्त्री जुग्जालीको निर्देशन, प्रतिवद्धता र महानगर तथा मन्त्रालयको सहमति अनुसार १ महिना भित्रनै पुल तयार भएको वडाध्यक्ष कार्कीले बताए ।
यसअघि गत आर्थिक वर्षमा पोखरा महानगरले उक्त पुल मर्मतका लागि बजेट व्यवस्थापन गरेपनि समन्वयको कमीले कार्यान्वयन भएको थिएन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै