नेपा फ्रेसको पानीमा लेउ, उत्पादन र वितरणमा रोक

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०८०
khanepani

पोखरा । प्रशोधित पानीको बोतलमा लेउ भेटिएपछि पोखराको भकुन्डेस्थित पानी उद्योगमा प्रशासनले ताला लगाइदिएको छ । कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले पोखरा–१८ भकुन्डेको नेपा फ्रेस मिनरल वाटर उद्योग बुधबारदेखि बन्द गराइएको बताए । उनका अनुसार जार र बोतलमा राखिएको पानी बिक्रीमा पनि रोक लगाइएको छ ।

लेकसाइडको एक होटेलमा भदौ १ गते गण्डकी प्रदेश नीति तथा योजना आयोगले गरेको कार्यक्रम वितरित पानीको बोतलमा लेउ देखिएपछि मुख्यमन्त्री कार्यालयका कर्मचारीले प्रशासनमा खबर गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित सबै मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित सरकारी अधिकारीहरू र पत्रकार सहभागी थिए ।

बुधबार स्थलगत अनुगमनपछि उद्योगको कागजपत्रसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन उद्योग सञ्चालका नाममा पर्चा काटिएको छ । मुद्दा किनारा नलागेसम्म बिक्रीवितरण र उत्पादन नगर्नू भनेर निर्देशन दिएको उनले बताए । पानी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयमा पठाइएको छ । उद्योग सञ्चालक भीमप्रसाद शर्माले बिजुली आउने जाने भइरहँदा समस्या देखिएको बताए । एउटा ब्याचको पानीमा समस्या छ भन्ने थाहा पाएपछि बजारमा पठाउनै रोकेको उनको भनाइ थियो । बजारमा पुगिसकेको भए पनि फिर्ता ल्याइदिन डिलरलाई पनि भनेको शर्माले सुनाए ।

राष्ट्रिय उपभोक्ता महासंघ कास्कीका उपाध्यक्ष मिलनप्रसाद तिवारी अन्य उद्योगमा पनि यस्तो समस्या हुन सक्ने भएकाले सबै उद्योगमा अनुगमन आवश्यक रहेको बताउँछन् । ‘बर्खाको समयमा अरु पानी उद्योगले पनि गुणस्तरहीन पानी बेचेको हुन सक्छ । खानै अयोग्य पानी बजारमा पठाएर उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्न पाइँदैन,’ उनले भने, ‘सबै उद्योगको निरन्तर अनुगमन हुनुपर्छ । गलत गर्नेलाई कारबाही गरिनुपर्छ ।’ यसअघि पनि परीक्षण उत्पादनको पानीमा लेदोसहित बिक्री गरेको भेटिएको थियो । प्रशोधन गरिएकै पानीमा समेत कैफियत देखिएपछि उपभोक्तामाथि अन्याय भएको तिवारीको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

hero news full width