अनुदानको मल कालाबजारीमा सहकारीकै संलग्नता

आदर्श समाज सम्वाददाता
श्रावण २२, २०८०
Anudan ko mals

पोखरा । नेपाल सरकारले अनुदानमा उपलब्ध गराउने मल बढी मूल्यमा बिक्री गरेको पाइएको छ । अनुदानको मल बढी मूल्यमा बिक्री गरेको गुनासो आएपछि पोखरा महानगरपालिकाको मल वितरण व्यवस्थापन समितिले तत्काल अनुगमन गर्दा प्रतिकिलोमा १० देखि १५ रुपैयाँसम्म बढी लिएको फेला परेको हो ।

पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख ठाकुरप्रसाद बास्तोला र महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियासहितको टोली अनुगमनमा जाँदा अनुदानको मल महानगरले तोकेको भन्दा बढी मूल्यमा बिक्री वितरण गरेको फेला परेको हो । पोखरा १० मा रहेको अमरसिंह कृषि सहकारीले २१ रुपैयाँको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको हो ।

उक्त सहकारीले मल बिक्री वितरण गर्ने अनुमतिसमेत पाएको छैन । उसले उपभोक्ता सहकारी संघबाट मल ल्याएर अमरसिंह सुलभ कृषि सामग्री पसलबाट बढी मूल्यमा मल बिक्री गरेको भेटिएको हो ।

मल बिक्री वितरणका लागि अनुमति नलिएको र तोकिएको मूल्यभन्दा बढीमा बिक्री गरेको पाइएको महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार पसल दर्ता भए पनि मल, विषादी र बिउबिजन बिक्री अनुमतिसमेत नलिएको पाइएको बताउँदै सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन भनिएको छ । बाँकी रहेको मल बिक्रीमा रोक लगाइएको कडरियाले बताए ।

सहकारीले २१ रुपैयाँको युरिया ३५ र ५० रुपैयाँको डिएपी ६५ रुपैयाँमा बिक्री गरेको टोलीले फेला पारेको हो

बिक्रीका लागि राखिएको २५ बोरा युरिया, ६ बोरा डिएपी र ५ बोरा पोटास बिक्री वितरणमा रोक लगाइएको छ । उक्त पसलले स्थानीय मल व्यवस्थापन समितिले तोकेको क्षेत्रभित्र किसानको परिचय खुल्ने गरी बिक्री गर्नुपर्ने भए पनि त्यसको समेत पालना नगरेको पाइएको छ ।

उपभोक्ता सहकारी संघले पनि कृषि सामग्री कम्पनी लिमिटेडबाट अनुदानमा ल्याएको मल अनुमति नपाएका सहकारी र पसललाई बढी मूल्यमा बिक्री गरेको अनुगमनमा फेला पारेको हो । संघले कार्यक्षेत्र भन्दा बाहिर मल पठाउने गरेको, बिलबिजक जारी नगरेको, मूल्यसूची नराखेको, कृषि सामग्रीबाट ५० बोरा र साल्ट टे«डिङ कर्पाेरेसन लिमिटेडबाट ३५ बोरा युरिया ल्याएको खुलेको छ । कृषि सामग्रीबाट साउन १८ गते ल्याएको सबै मल बिक्री गरेको अनुगमनमा देखिएको छ । संघलाई पनि सोमबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ सरकारले किसानका लागि दिएको अनुदानको मल बढी मूल्यमा बिक्री गर्नु सरासर गलत भएको बताइन् । उनले किसानलाई सहज, सरल र सुपथ मूल्यमा मल उपलब्ध गराउने काममा सहयोग गर्नुपर्नेमा नाफा कमाउने कार्यमा सहकारी र व्यवसायी लाग्न नहुने उनको भनाइ थियो । पोखरा महानगरको मल वितरण व्यवस्थापन समितिको साउन १२ गतेको बैठकले सरकारी अनुदानमा प्राप्त हुने मलको मू्ल्य निर्धारण गरेको थियो ।

युरिया मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकिलो १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म, डीएपी मलको मूल्य प्रतिकिलो ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा र पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म तोकेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width