डेंगु संक्रमणमा कास्की उच्च १० जिल्लाभित्र

आदर्श समाज सम्वाददाता
श्रावण २, २०८०
aedes-aegypti-mosquito-dengue-rash

पोखरा । पछिल्लो समय डेंगु संक्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेंगु संक्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्तायता संक्रमण बढेको बताए । उनका अनुसार पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको हो ।

डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगु सङ्क्रमण हुन्छ । एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगुका बिरामी भेटिएका छन् ।

महाशाखाका अनुसार २७ असारमा १ हजार ३ सय ३७ संक्रमित भएकोमा १ साउनसम्म आइपुग्दा बढेर २ हजार ९ सय ३० जनामा डेंगुको संक्रमण देखिएको छ ।

गण्डकी प्रदेशमा २ सय ६९ जनामा संक्रमण देखिएको छ । बढी संक्रमित भएका नेपालका १० जिल्लामध्ये कास्की पनि परेको छ । सबभन्दा बढी सुनसरीमा १ हजार ५ सय ७१ छन् । कास्कीमा १ सय ४९ जना छन् ।
नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगु देखिएको थियो । मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न अनुरोध गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width