कांग्रेसमा २२ विभाग थप गर्न प्रस्ताव

आदर्श समाज सम्वाददाता
श्रावण २, २०८०
congress

पोखरा । नेपाली कांग्रेसको केन्द्रमा २२ वटा विभाग थप गर्न प्रस्ताव गरिएको छ । साथै केन्द्रीय कार्यसमितिको बैठकमा कार्यकाल सकिएका ६ भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेस भएको छ । म्याद सकिएर तदर्थ समिति बनेको तर समितिले पूर्णता नपाएका नेविसंघ लगायत भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने प्रस्ताव छ ।

झन्डै १ वर्षपछि बसेको केन्द्रीय कार्यसमितिको बैठक सामाजिक संजाल फेसबुकमार्फत लाइभ गरिएको थियो ।

पार्टी कार्यालय, सानेपामा बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले केन्द्रमा २२ वटा विभाग थप गरेर विभागको जम्मा संख्या ७० पु¥याउन प्रस्ताव गरेका हुन् । यसअघि विभागको संख्या ४८ भए पनि विधानमा भने अहिलेसम्म एउटा सूचना सञ्चार विभागमात्र गठन भएको छ । नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

म्याद सकिएर तदर्थ समिति बनेको, तर समितिले पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिने पनि उनको प्रस्ताव थियो । जसमा सबै भ्रातृसंस्थाहरुले आफ्नो कार्यतालिका बनाउनुपर्नेछ भने हरेक ३ महिना प्रगति प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ ।

यसैबीच, केन्द्रीय कार्यसमितिको बैठक अब २÷२ महिनामा बस्ने प्रस्ताव गरिएको छ । कांग्रेसको विधानमा पनि केन्द्रीय कार्यसमितिको बैठक २ महिनामा कम्तीमा एकपटक बस्ने उल्लेख छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकको प्रारम्भ गर्दै महामन्त्री विश्वप्रकाश शर्माले बैठकका कार्यसूचीबारे जानकारी गराए । बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको थियो ।
यसअघि २७ असारमा तय भएको बैठक विविध कारणले गर्दा मंगलबारलाई सारिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width