याम्दी–हरिचोक सडकखण्ड कहिले पूरा हुन्छ ? ढिलाइले स्थानीयको विरोध

धनबहादुर गुरुङ
असार ३१, २०८०
Hemja Harichok Sadak Photo

पोखरा । गत वर्ष भदौ अन्त्यबाट याम्दी–हरिचोक खण्ड स्तरोन्नति सुरु भयो । ४ लेनमा बन्ने गरी उक्त सडकखण्ड साउनमा काठमाडौंको मोतीदान कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीले २ वर्षमा सक्ने गरी सुरुआत गरेको सो योजनाको १० महिनामा २० प्रतिशतमात्र काम हुन सकेको छ ।

कार्य प्रगति सुस्त हुँदा पोखरा वडा १ र २५ वडावासीले विरोध जनाएका छन् । उनीहरुले निर्माण कार्यमा तीव्रता दिन माग गरेका छन् । अहिले सो सडकखण्ड भएर यात्रा गर्ने सवारीचालक एवं यात्रु सहित स्थानीय हैरानीमा छन् । निर्माण कम्पनीका इन्जिनियर सुनिल थापाले निर्धारित समयअगावै काम सक्ने दाबी गरे पनि सोचजस्तो भएन ।

काम ढिला हुँदा धेरै समस्या झेल्नुपरेको स्थानीय व्यवसायी प्रतीक्षा पौडेलले बताइन् । ‘यहाँ काम गर्न थालेको १ वर्ष हुन लाग्यो केही प्रगति भएको छैन,’ उनले भनिन्, ‘यही धुलोले होला छाती दुख्ने, सुख्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।’ अस्तव्यस्त सडकका कारण दिनहुँ सो खण्डमा सवारी दुर्घटनाको जोखिम बढेको पनि उनको गुनासो छ । सडककै कारण आफ्नो व्यापार पनि घटेको उनले सुनाइन् । बाटो साघुँरो भएकाले त्यस क्षेत्रमा सवारी जामको पनि समस्या छ ।
मात्र २ किमी सडक निर्माणमा ढिलासुस्ती र हेलचेक्याइँ भएको पोखरा २६ र १ का जनप्रतिनिधि, दलका प्रतिनिधि र स्थानीयले विरोध जनाएका छन् । उनीहरुले आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई ज्ञापनपत्र बुझाउँदै सुरक्षाको मापदण्ड नअपनाई सडक बनाउँदा अत्याधिक खाल्डाखुल्डी भएको र दुर्घटना बढेको बताए ।

 याम्दी–हरिचोक खण्ड १० महिनामा २० प्रतिशतमात्र प्रगति

पोखरा–२५ का वडाध्यक्ष मोती तिम्सिनाले सडक निर्माणमा लापरबाही गर्दै काम ढिला गरेको बताए । ‘सिम्पानीदेखि याम्दीसम्मको सडकखण्डमा निर्माण कम्पनीले लापरबाही गरेको छ । ढिलासुस्ती गरेको छ । बाटो मर्मत भएको छैन । यात्रुलाई सास्ती भएको छ । सवारीहरु दुर्घटनामा परेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले समयमै मर्मत नगर्ने आलटाल गर्ने अनि मध्यपहाडी योजनाले पनि सुनुवाई नगर्ने भएपछि आज हामीले वडा २५ को नेतृत्वमा वडा १ का जनप्रतिनिधिसहित गएर ध्यानाकर्षणपत्र बुझाइयो ।’ उनका अनुसार सडक चिप्लो हुँदा सबैभन्दा बढी महिला र विद्यार्थी दुर्घटनामा पर्ने गरेका छन् ।

ठेकेदार कम्पनीले ढिलासुस्ती र हेलचेक्याइँ गर्दा स्थानीयले दुख पाएको ज्ञापनपत्रमा उल्लेख छ । वडाध्यक्ष तिम्सिनाले बर्खामा हुने दुर्घटना न्युनीकरण गर्न तत्काल ग्राभेल भरेर आउजाउ सहज बनाइदिन आग्रह गरे ।

हरिचोक–याम्दी सडकखण्ड निर्माणमा हालसम्म २० प्रतिशतभन्दा केही बढी काम भएको भएको पुष्पलाल मध्यपहाडी लाेकमार्ग आयोजना योजना कार्यालय पर्वतका आयोजना प्रमुख कल्पना अधिकारीले जानकारी दिइन् । प्रगति सोचेजस्तो नभएको उनको भनाइ थियो । अर्थ मन्त्रालयबाट पूर्ण बजेट भुक्तानी नहुँदा झनै समस्या परेको उनको भनाइ थियो । ‘अर्थ मन्त्रालयले भुक्तानी गर्ने भनेको बजेट पनि भुक्तानी भएन । आवश्यकताको ५० प्रतिशत पनि बजेट आएन् । त्यसो भएपछि हामीले निर्माण कम्पनी पेस गरेको बिल भुक्तानी गर्न नसक्ने अवस्था भयो,’ उनले भनिन्, ‘आएको पैसा सबैलाई थोरैथोरै बाँडियो । सोही अनुसार मोतिदानलाई पनि दिइयो । उहाँहरुको काम त सन्तोषजनक त छैन । तर, पछिल्लो समय हामी आफैँ पनि कमजोर भइयो ।’

गरेको कामको भुक्तानी गर्न नसक्दा काम छिटो गन ताकेता गर्न गाह्रो परेको उनले सुनाइन् । ‘हामीले गरेको कामको पनि पैसा दिन सकिएको छैन । कुन मुखले काम छिटो गर भनेर भन्ने ?,’ उनले भनिन्, ‘यसको सम्झौता सकिन १ वर्ष छ । अस्तिसम्म त पत्राचार गरेर काम छिटो गर्नुस् भनेर भनियो तर पैसा कम आएपछि समस्या प¥यो ।’ आयोजनालाई समयमै काम सक्न र बर्खा अवधिका लागि ग्राभेल भरेर सडक सुरक्षित बनाउन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width