मेरी छोरी डाक्टर बनेको देख्न मन लाइरा’छ….

आदर्श समाज सम्वाददाता
असार ९, २०८०
gbs

गण्डकी बोर्डिङको अभिभावक दिवसमा दोहोरी गाउँदै सानासाना विद्यार्थी । तस्बिरः विजय नेपाल

पोखरा, ९ असार ।

छोरी: जहिले पनि खेलेकै देख’नि,
जसै छैन होमवर्क गरे’नि,
खेल्न मन लाइरा’छ,
किताबमात्रै तेर्साउने बाबाले मोबाइल याद आइरा’छ ।’

बाबु: नपढेर मन धेरै रोको छ,
ठूलो मान्छे बनाउने धोको छ,
सपना आइरा’छ,
मेरी छोरी डाक्टर बनेको देख्न मन लाइरा’छ ।

बाबु–छोरीको भूमिकामा विद्यार्थीले यसरी लाेकदोहोरी गाउँदा अभिभावकले परर्र ताली पिट्थे । दोहोरी रोचक बन्दै जाँदा अर्को तुक्का के आउँछ भनी खुबै रुचीपूर्वक सुन्थे पनि ।
पोखराको लामाचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा शनिबार यस्तै दृश्य देखियो ।

आधारभूत तहअन्तर्गत अभिभावक दिवस समारोहमा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रममार्फत आफ्नो कला प्रस्तुत गरेका हुन् । त्यस्तैमा कक्षा ६ (बी) का छात्र स्पन्दन गिरी बाबुको भूमिकामा र कक्षा ४ (बि) की छात्रा डेमोक्रिसा परियार छोरीको भूमिकामा दोहोरीमा जमेका हुन् । करिब २० मिनेटसम्म चलेको दोहोरी रमाइलो मात्र थिएन, दोहोरीका हरेक शब्दहरु विद्यार्थीको पढाइलाई प्रेरित गर्नेखालका थिए ।

त्यसबेला ‘उडेर जून छुन्छु भन्ने…’ गीतका गायक रामभक्त जोजिजूले हार्मोनियम, अंग्रेजी शिक्षक कृष्णश्याम शर्माले सारङ्गी बजाएर संगीतमा साथ दिएका थिए ।

विद्यालय प्रिन्सिपल वीरेन्द्र खड्काले विद्यार्थीको पढाइका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले जोड दिएको बताए । उनले शिक्षामा गुणस्तर कायम गर्न शिक्षक, विद्यार्थी र अभिभावकको त्रिपक्षीय सम्बन्ध आवश्यक रहेको बताए ।

राष्ट्रगानका रचयिता प्रदीपकुमार राई (ब्याकुल माइला) ले कविता वाचन गर्दै विद्यार्थी अनुशासित भएर पढाइमा केन्द्रित हुन सल्लाह दिए ।

शिक्षक अभिभावक संघका सदस्य एवं पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, शिक्षक अभिभावक संघकै अर्का सदस्य जीवनप्रसाद भण्डारीले विरासत कायम गर्दै साँच्चिकै राष्ट्रिय स्कुलको नमुना प्रस्तुत गर्न सुझाव दिए ।

समारोहमा विद्यार्थीले कौरा, तामाङ्सेलो, नेवारी नृत्य, धिमाल नृत्य प्रस्तुत गरेका थिए । यस्तै कविता वाचन, नृत्य, स्काउटको प्रदर्शन तथा कराते काताको डेमो प्रस्तुत गरिएको थियो । लोकदोहोरी गायिका तथा विद्यालय अभिभावक सीता परियारको गायनमा दर्शकले ताली पिटेर साथ दिएका थिए । कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख मानबहादुर थापा तथा विद्यार्थीले संयुक्तरुपमा गरेका थिए ।

कक्षा ४ देखि ८ सम्मका विद्यार्थी र तिनका अभिभावक उपस्थित रहेको सो समारोह ३ घण्टासम्म चलेको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width