पोखरामा फाइभजी सेवा विस्तार गर्दै टेलिकम

आदर्श समाज सम्वाददाता
असार ५, २०८०
telecom

पोखरा । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले नेपाल टेलिकमले गुणस्तर र सेवामा आफूलाई अब्बल प्रमाणित गर्नुपर्ने बताएका छन् ।
‘सरकारी सेवा गुणस्तरी हुँदैन भन्ने भ्रम चिर्नुपर्ने यहाँहरूको दायित्व हो,’उनले भने,‘राज्यप्रतिको दायित्व टेलिकमले भुल्नुहुँदैन, अन्य कम्पनीसँगको प्रतिस्पर्धामा खरो उत्रनुपर्छ ।

अध्यक्ष प्रजापति नेपाल टेलिकमले प्रदान गर्ने सेवाबारे जानकारी दिन प्रादेशिक कार्यालय पोखराको आयोजना तथा पोखरा उद्योग वाणिज्य संघको सहकार्यमा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै थिए ।

सोही कार्यक्रममा नेपाल टेलिकम प्रादेशिक कार्यालय पोखराका निर्देशक इन्दल यादवले टेलिकमले आम्दानीभन्दा पनि सञ्चारमार्फत् देशलाई जोड्ने काम गरिरहेको जिकिर गरे ।

उनले नेपाल टेलिकमले सेवाको गुणस्तर वृद्धिलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै पछिल्लो समयमा जनतालाई सजिलो हुने गरी विभिन्न खाले सुविधाहरू थपिएको पनि बताए ।

गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं

उनले भने,‘पोखरामा टेलिकमले फाइभजी सेवाको परीक्षण गरिरहेको छ, काठमाडौंपछि सेवा विस्तारको लागि पोखरालाई प्राथमिकतामा राखिएको छ ।’ अहिले पोखराको महेन्द्रपुल क्षेत्रमा फाइभजी सेवा परीक्षणमा रहेको उनले जानकारी दिए ।

टेलिकमले गुणस्तरीय सेवाका सम्पादन गरेका विभिन्न गतिविधिबारे जानकारी दिँदै उनले सोचेजस्तो गतिमा काम नभएको स्वीकारे । ‘काम गर्न अप्ठेरो छ, हाम्रोमा निर्णय प्रक्रिया नै ढिला छ,अर्कोतर्फ गुणस्तर सुधारको काम गर्दै जाँदा आइपर्ने सानो अवरोधले पनि हामी पीडित छौं,’ उनले भने,‘कतै फाइबर बिछ्याउने काम ग¥यो, समन्वय हुँदैन, एउटा पोल गाड्न खोज्यो, अवरोध हुन्छ, पृथ्वी राजमार्ग स्तरोन्नति भइरहेको छ, दिनदिनै तार चुँडिन्छ, सेवाग्राहीले हामीलाई कराउँछन् तर अन्य निकायले त्यो कुरा बुझ्दैनन् ।

निर्देशक यादवले गण्डकीका २५ लाख १ हजार ८ सय ४२ जनाले टेलिकमको सेवा लिएको जानकारी दिए । गण्डकीमा पोस्टपेड मोबाइल चलाउने ७० हजार र प्रिपेड मोबाइल चलाउने २३ लाख ९२ हजार ५ सय ४ जना रहेको पनि उनले बताए ।

नेपाल टेलिकम क्षेत्रीय कार्यालय पोखराका व्यापार प्रमुख महेन्द्र रिमालले नेपाल टेलिकमको सहरदेखि गाउँसम्म पुगेको जिकिर मात्रै गरेनन्, सस्तो र भरपर्दो भएको पनि बताए ।

पछिल्लो समय नेपाल टेलिकमले प्रदान गरेको फाइबर टु होम (एफआइटीएच) बाट इन्टरनेट, टेलिभिजन र फोन सुविधा, अन्तर्राष्ट्रिय रोमिङ, कर्पोरेट युजर ग्रुप (सीयुजी) नमस्ते वाइफाइ, डेडिकेटेट लिज सर्भिस, नोटिस बोर्ड, टोल फ्रि नम्बरजस्ता सेवाबारे उनले विस्तृतमा व्याख्या पनि गरे । टेलिकमले प्रदान गर्ने प्याकेजहरूले गुणस्तरमा सम्झौता नगर्ने उनको भनाइ थियो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले नेपाल टेलिकमलाई सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी नभुल्न आग्रह गरे ।

नेपाल टेलिकमकी सहायक व्यापार अधिकृत कविता श्रेष्ठको सञ्चालन रहेको कार्यक्रममा पोखरा कार्यालय प्रमुख वसन्त माझीलगायतले पनि टेलिकमको विभिन्न सेवाबारे जानकारी गराएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै