विज्ञान प्रदर्शनीमा विद्यार्थीका ‘इनोभेसन’

विजय नेपाल
जेठ ३१, २०८०
science festival by bijay (1)

पोखरा । पोखराको नदीपुरस्थित बालमन्दिर स्कुलका विद्यार्थीले माटोमा पानीको मात्रा कति छ भन्ने जान्ने यन्त्र तयार पारेका छन् । स्मार्ट एरिगेसन नामक उक्त यन्त्रको मद्दतबाट सिँचाइको बखत मद्दत पु¥याउने कक्षा १० का विद्यार्थी आविष्कार अधिकारीले बताए ।

मदरल्यान्डका विद्यार्थीले विज्ञानसम्बन्धी ४ वटा प्रोजेक्ट तयार पारेका छन् । कक्षा १० का विद्यार्थी इप्सोन गुरुङ, अंकित पौडेल, अञ्जिल खत्री र पवन पोख्रेलले एउटा यस्तो वेबसाइट बनाएका छन्, जसको मद्दतमा पोखरा महानगरमा बिक्री हुने फलफूल तथा तरकारीको भाउ थाहा हुन्छ । महानगरले आफूहरुलाई अनुमति दिए, त्यसका लागि अघि बढ्न तयार रहेको विद्यार्थी इप्सोन बताउँछन् । मेट्रोभेजिज नामक सो वेबमा उनीहरुले नमुनाको रुपमा फलफूल र तरकारीको तस्बिरसहित भाउ राखेका छन् । मदरल्यान्डको अर्को प्रोजेक्ट हो–हाइड्रोलिक ¥याम पम्प, अटोमेटिक बाटरिङ सिस्टम र ब्लाइन्ड एन्ड डेफ स्टिक ।

यसैगरी, फिस्टेल एकेडेमी कक्षा १० की गरिमा लामिछानेले विद्यार्थीको टिमले जमिनमुनिको पानी तान्ने यन्त्र बनाएको बताइन् । वैज्ञानिक क्षेज्ञमा सरकारको लगानी पहुँच नहुँदा कतिपयले नयाँ नयाँ आविष्कार खुम्चिनुपरेको गरिमाको गुनासो छ ।

पोखरामा पहिलो पटक सञ्चालित साइन्स फेस्टिभलमा ५० स्टल छन्

स्याङ्जा फेदीखोलाको चन्डीडाँडा माविका विद्यार्थीले फोहोर व्यवस्थापनको लागि सोलिड बास्ट म्यानेज्मेन्ट यन्त्र बनाएका छन् । बुटवलको काइँयो ग्रुपको सेनिटरी प्याड यन्त्रमा छात्राहरुको भीड छ । मेसिनमा सिक्का छिराएपछि एटिएममा पैसा निस्के झैं सेनिटरी प्याड फुत्त बाहिर निस्कन्छ ।

यी र यस्तै विज्ञान प्रदर्शनी पोखराको नयाँबजारमा देख्न पाइन्छ । हिमालयन साइन्स फेस्टिभलले पोखरामै पहिलोपल्ट प्रदेशस्तरीय विज्ञान प्रदर्शनी आयोजना गरेको हो । २ दिनसम्म चल्ने प्रदर्शनीको नाम ‘हिमालयन साइन्स फेस्टिभल ३.०’ दिइएको छ । फेस्टिभलमा विभिन्न आविष्कारका ५० स्टल छन् । तीमध्ये २६ स्कुलका ४० प्रोजेक्ट हुन् भने बाँकी अप्रत्योगी १० प्रोजेक्ट छन् । ती प्रोजेक्ट अवलोकन गर्न विद्यार्थीको आकर्षण छ । पोखरा र आसपासका विद्यालयले ठूलो संख्यामा विद्यार्थी उतारेका छन् । उनीहरुले अभिरुचीपूर्वक विभिन्न आविस्कारको अवलोकन गरेका छन् । गण्डकी बोर्डिङ स्कुलका विद्यार्थीको विभिन्न आविष्कारमध्ये अटो हार्भेस्टर एक हो । यसको मद्दतमा किसानले खेतबारीमा लगाएको गहुँ, कोटो, फापर काट्न सक्ने कक्षा १० का विद्यार्थी प्राज्न गौतमले बताए । कोलपाटनको रेन्बो एकेडेमीले रेन्बोस्टिक उल एयर फिल्टर प्रदर्शनीमा राखेको छ भने रामबजारकै कालिका सेकेन्डरी स्कुलका विद्यार्थीले आकासेपुल र खेरजाने पानी उपयोग हुने यन्त्र बनाएका छन् । सृजना माविका विद्यार्थीको सोलार ग्रास कटर होस् वा सगरमाथा निकेतनको बाटर पम्प हेर्नेको पनि उत्तिकै भीड छ ।

फेस्टिभल उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले विद्यार्थीको अन्तरनिहीत प्रतिभा प्रस्फुटनका साथै नयाँ नयाँ प्रविधि विकासमा यसखालका महोत्सवले निकै महत्व राख्ने बताए । उनले आजका बालबालिकाका भविष्यमा वैज्ञानिक समेत बन्ने भएकोले यस दिशामा प्रेरित गर्न महत्व राख्ने बताए ।

शिक्षा विकास तथा समन्वय केन्द्र कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा फेस्टिभल महत्वपूर्ण रहेको बताए । उनले यसखालका फेस्टिभल आगामी दिनमा पनि नियमित हुन् भनी अपेक्षा गरे ।

हिसान कास्की अध्यक्ष यामबहादुर रोकाले विद्यार्थीलाई योसँगै विभिन्न क्षमता विकासमा अवसर दिनुपर्नेमा जोड दिए । प्याब्सन कास्की अध्यक्ष मधुरा पौडेलले सबैको कुरा सुन्ने विद्यार्थी हुन् भन्दै अब विद्यार्थीको कुरा हामीहरुले सुन्नुपर्ने बताए ।

आयोजक हिमालयन साइन्स फाउन्डेसनका अध्यक्ष आतंक बस्नेतले २०७६ बाट यसखालको महोत्सवको आयोजना गरिए तापनि कोरोना महामारीले निरन्तरतामा समस्या आएको बताए । नेपालका वैज्ञानिकलाई संरक्षण गर्न नसक्दा देशले दक्ष वैज्ञानिक गुमाइरहेको उनी बताउँछन् । विज्ञान विषयलाई पढाउने तौरतरिकामा फेरबदल गर्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सरोकारवाला निकायको सहकार्यमा देशका हरेक प्रदेशमा फेस्टिभल आयोजना गर्ने उनले बताए । साइन्स फेस्टिभल यसअघि लुम्बिनी प्रदेशको नेपालगञ्जमा भएको थियो ।

विज्ञान शिक्षक समाज नेपालको सहआयोजनामा भएको फेस्टिभलले विद्यार्थीको वैज्ञानिक धारणा र नवप्रवर्तकमा टेवा पु¥याउने मूल उद्देश्य रहेको समाजका गण्डकी प्रदेश संयोजक राजकुमार ढकालले बताए ।

फेस्टिभलमा पहिलो हुने प्रोजेक्टलाई ३० हजार, दोस्रोलाई २५ हजार, तेस्रोलाई २० हजार र सान्त्वना ४ टिमलाई ६/६ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने समाजका सचिव सुजन लम्सालले बताए । फेस्टिभलको समापनमा विज्ञान शिक्षक समाज नेपाल गण्डकी प्रदेश संयोजक राजकुमार ढकाललाई उत्कृष्ट शिक्षकको रुपमा सम्मानित गरिने समाजका उपाध्यक्ष सुदीप आचार्यले बताए । स्याङ्जाका ढकाल गण्डकी बोर्डिङका विज्ञान शिक्षक हुन् ।

प्रदर्शनीको मुख्य प्रायोजक बालाविज एजुकेसनल सर्भिसेज हो भने गण्डकी प्रोभिन्स एकेडेमी अफ साइन्स एन्ड टेक्नोलोजी सहप्रायोजक हो ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै