भैरवपछि अब पोखरामा बाघजात्रा

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०८०
bagh

पोखरा । भर्खरै मात्र भैरवजात्रा सकिएको पोखरामा बाघजात्राको तयारी थालिएको छ । एक शताब्दी अघिदेखि पोखरामा देखाउन थालिएको बाघ जात्रा २३ वर्षदेखि रोकिएको थियो ।

२०५७ सालमा ३ दिन पोखरामा देखाइएको बाघ जात्रा अब प्रदर्शनको तयारी थालिएको हो । पोखरामा भैरव नाच र बाघ जात्रा ३ वर्षको अन्तरालमा देखाउने गरी तयारी गरिएको तयारी समिति सचिव सुनिल उलकले बताए ।

बाघजात्राका लागि ९० देखि सय जनासम्म कलाकारसहित जनशक्ति चाहिने तयारी समिति संयोजक जवाहरलाल श्रेष्ठले जानकारी दिए । बाघ जात्रामा राजा, रानी, मन्त्री, घोडासहित सेना, प्रहरी र जनता पात्रका रुपमा समावेश हुन्छन् । भैरवनाच संरक्षण समिति अध्यक्ष तीर्थमान प्रधानांगले लाखेजात्रा, घोडेजात्रा र माघेजात्राको संयुक्त रुप बाघजात्रा भएको उल्लेख गरे । तयारी समिति सदस्य दीपेन्द्र श्रेष्ठले बाघजात्रा रैथाने र मौलिक जात्रा भएको बताए ।

भैरव नाचकै गुरु कृष्णदेव प्रधानांगले बाघजात्राको प्रशिक्षण गराउने भएका छन् । आउने भदौ १८ देखि २० सम्म जात्रा निकाल्ने तयारी भइरहेको छ ।

बाघजात्राको खर्चका लागि पोखरा महानगरपालिकादेखि वडासम्मले सहयोगको प्रतिबद्धता जनाएका छन् । बाघजात्रा तयारीसम्बन्धी छलफल कार्यक्रममा पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिराज तिमिल्सिनाले धर्मसंस्कृति पोखरेलीको गौरव भएकाले यसको जगर्नेनाका लागि महानगरले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

पोखरा–२ का वडाध्यक्ष दिवशमान प्रधानांगले संस्कृति सम्पत्ति भएकाले यसलाई जोगाउन वडाले सहयोग गर्ने बताए । पोखरा–३ का वडाध्यक्ष प्रकाश उदासले सुसंस्कृत हुनुपर्ने भन्दै यो पहिचानसँग जोडिएको विषय भएको बताए । कार्यक्रममा पोखरा–११ का वडाध्यक्ष प्रेम कर्माचार्य, पोखरा–२३ का वडाध्यक्ष रामकाजी गुरुङले समेत बोलेका थिए ।

नेवा खलः कास्की अध्यक्ष अशोक पालिखेले बाघजात्रा नेवारको मात्र होइन, पोखरेलीको जात्रा हो भन्दै यसलाई सबै मिलेर जोगाउनुपर्नेमा जोड दिए । पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष उत्तममान बुद्धाचार्यले बाघजात्रा सांस्कृतिकसँगै व्यापारिक प्रवद्र्धनका लागि निकालिने गरेकाले यसको महत्व अहिल ेपनि उत्तिकै रहेको बताए । नेवा मिस पुचःका अध्यक्ष संगीता बज्राचार्यले जात्रा आयोजनाका लागि आफूहरु दिनरात खटिन तयार रहेको बताइन् ।

Related News

सम्बन्धित समाचार

hero news full width