५ सय वर्ष पुरानो छैरो छहरा गुम्बा मुस्ताङको आकर्षण

सुशील बाबु थकाली
चैत्र १९, २०७९
Mustang News

मुस्ताङ  । मुस्ताङको घरपझोङ गाउँपालिका वडा १ छैरो गाउँस्थित छैरो छहरा गुम्बा ५ शताव्दी पुरानो धार्मिक तीर्थस्थल हो । गुम्बा नै गुम्बाको शहरको उपमा पाएको मुस्ताङको यस तीर्थस्थल प्रवद्र्धन अभावमा भने ओझेलमा छ ।
बेनी–जोमसोम–कोरोला सडक खण्डअन्तर्गत घरपझोङ २ मार्फादेखि पारीपट्टि रहेको यस गुम्बा हिंडेर १० मिनेटमा नै पुग्न सकिन्छ । सडक सञ्जालले नछोए पनि यस गुम्बामा धार्मिक आस्था र विश्वासकै कारण बर्सेनि ठूलै संख्यामा दर्शनाथी आउने गरेको यहाँका स्थानीयवासी बताउँछन् ।

गुम्बा नजिकै तिब्बतीयन शरणार्थीहरूको बाक्लो बसोबास छ । करिब ७० वर्षदेखि नियमित रुपमा बसोबास गर्दै आएका तिब्बतीयनको बसोबास पनि यहाँको मौलिकता हो भन्दा फरक पर्दैन । यस तिब्बतीयन क्याम्प र छैरो गाउँको आपसी मेलमिलाप र भाइचारा विशिष्ट प्रकृतिको छ ।

छैरो छहरा गुम्बा मुस्ताङ जिल्लाकै सबैभन्दा पुरानो हो । साथै भूगोलका कारण पनि गुम्बा लामो समयदेखि ओझेलमा थियो । जसले यसको उन्नयन विकास हुन नसकेको स्थानीय अगुवा सोमप्रसाद शेरचन बताउँछन् । उनका अनुसार छैरो गाउँका स्थानीयहरु आर्थिक रुपमा समेत माथि उठ्न नसकेका कारण करिब ३ दशक अघिबाट गाउँका स्थानीयहरु देशका विभिन्न शहरमा बसाइँ सरेका थिए । सोही कारण बसाइँसराइक्रमसँगै गुम्बा र गाउँको संरक्षण नभएको हुन सक्ने शेरचनले बताए ।

पछिल्लो समयमा गुम्बाको महत्वलाई बुझेर यसको संरक्षण र विकासमा चासो बढेको उनले बताए । शेरचनको अनुसार २०३७ सालमा अन्तिम पटक देव (लामा) नृत्य भएको उनको भनाइ छ ।
पछिल्ला समयमा स्थानीय निकाय, प्रदेश र संघ गरी तीन वटैै तहले यसको भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न थालेको स्थानीय जनप्रतिनिधि बताउँछन् । सडक सञ्जालले गाउँलाई जोड्ने भैसकेपछि ऐतिहासिक सम्पदाको संरक्षणमा पनि चासो बढ्दै जान थालेको छ । गुम्बामा ५ सय वर्षभन्दा पुरानो महत्वपूर्ण वास्तुकला, आकर्षक भगवान गौतम बुद्धका आकृति (मूर्ति) छन् ।

पछिल्लो समय गुम्बाको महत्व बुझेर यसको संरक्षण र विकासमा चासो बढेको छ

भगवान् गौतम बुद्धको दोस्रो रुप गुरु रिन्पोन्छेको विशाल मूर्तिले गुम्बाको गरिमा र महत्व अझै बढाएको छ । गुम्बाको वरिपरि २ सय वर्षभन्दा पुराना ठूल्ठूला धुपीका रुखले ढाकेको र बीच भागमा रहेको गुम्वा आकर्षक देखिन्छ ।
पछिल्लो ५ वर्षमा स्थानीय र प्रदेश सरकारले छुट्याएको बजेटबाट गुम्बाको केही संरचना पुनर्निर्माण गरिनुले यसको आकर्षण बढेको हो । गुम्बाको ऐतिहासिकतालाई प्रचारप्रसार गर्न सकेमात्रै मुस्ताङ आउने जोकोही पर्यटकको एक पटक पुग्नै पर्ने गन्तव्यको रुपमा यसको विकास हुने पक्का छ ।

गुम्बाका लामा रामु थकालीका अनुसार गुरु रिन्पोन्छे भगवान् गौतम बुद्धको दोस्रो रुप हो । ‘जुनसुकै पूजापाठ गर्नुअघि गुरु रिन्पोन्छेको शरण पर्नु आवश्यक रहन्छ,’ उनले भने । धार्मिक आस्थाकै कारणले गर्दा पछिल्लो समय यस गुम्बामा बौद्ध धर्मावलम्बीहरूको आगमनमा वृद्धि हुँदै गएको उनले बताए ।

मनले चिताएको पूरा हुने र सन्तान नभएका दम्पतीले वर मागेमा सन्तान प्राप्ति हुने विश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन् । पुजारी लामा थकालीका अनुसार गुम्बामा जसजसले राम्रो मनले पूजाआजा गरेका छन् उनीहरूलाई मनोकांक्षा पूरा भएको थकालीको जिकिर छ । गुम्बामा बर्सेनि बौद्ध धर्मावलम्बीले घ्यल्बो पूजा गर्ने गर्दछन् । प्रत्येक ३ वर्षमा ऋनन्जी पूजा गरेमा दुख, बिमार, बाधा, ाशरीरिक कष्ट हट्ने जनविश्वास छ । आफ्नो परिवारको कल्याणको कामना गर्दै घ्यल्बो र ऋनन्जी पूजा अनिवार्य गर्नुपर्ने प्रचलन रहेको छ ।

छैरोका पूर्व गाउँ मुखिया कृष्णबहादुर गौचनले गुम्बा ५ सय वर्षभन्दा पुरानो रहेको जानकारी दिए । मुस्ताङको सबैभन्दा पुरानो गुम्बा भएको कारण यसको महत्व रहेको उनको जिकिर छ । गुम्बा समितिले प्रत्येक वर्ष सबैको रोगव्याधी हटोस् भन्दै घ्यल्बो पूजा र गाउँको रक्षाको कामना गर्दै प्रत्येक तीन वर्षमा ऋनन्जी पूजापाठ गर्ने गरेको छ ।

गौचनका अनुसार छैरो छहरा गुम्बा बैशाख पहिलो साताबाट मङ्सिर महिनाभर पूजा पाठका लागि खुला भई करिब ४ महिनाको लागि गुम्बा बन्द गर्ने प्रचलन प्राचीनकालदेखि नै चल्दै आएको छ । अहिले पनि स्थानीयले सोही प्रचलनलाई आत्मसात गर्दै गाउँको रक्षा र स्थानीयमा दुख, कष्ट नआओस् भन्दै पूजाआजा गर्ने गर्छन् ।

पछिल्लो समयमा छैरो छहरा गुम्बालाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास पनि थालिएको छ । घरपझोङ ४ हुँदै रिङ रोडले छोएको कारण पनि यसको महत्व चुलिदै गएको हो । साथै नजिकै रहेको छैरो छहरा (झरना) लाई पनि जोड्न सकिने देखिएको छ । वडाध्यक्ष आशबहादुर थकालीका अनुसार छैरो छहरा गुम्बा करिब २० रोपनीमा फैलिएको छ ।

गुम्बाको धार्मिक एवं पर्यटकीय विकासले स्थानीयको आर्थिक उन्नयनमा पनि टेवा पु¥याउन सकिने उनले बताए । गुम्बाकै कारण भोलिका दिनमा गाउँलेको जीवनस्तर माथि उठाउन सकिने देखिन्छ । यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहको वडाध्यक्ष थकालीले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै