‘क्याप्टेन बा’ का सपनाको २५ वर्ष

धनबहादुर गुरुङ
फागुन ५, २०७९
Sirubbari Golden Jubbly Photo

पोखरा । मञ्चको अगाडि क्याप्टेन रुद्रमान गुरुङको फोटो । तस्बिरमा माल्यार्पण भइरहेको थियो । झकिझकाउ स्टेज र उच्चपदस्थ व्यक्तिहरुले माल्यार्पण गरिरहँदा कसैको अनुहारमा खुसी थिएन । सिरुबारी सामुदायिक होमस्टेले स्थापनाको २५ वर्ष मनाइरहँदा उपस्थित धेरै भावुक थिए । उनीहरुलाई रजत जयन्तीको खुसीभन्दा पनि संस्थापक साथैमा नहुनुको पीडा थियो ।

दक्षिण एसियाकै पहिलो सामुदायिक होमस्टेका परिकल्पनाकार रुद्रमान गुरुङ ‘क्याप्टेन बा’ को २०७२ को फागुनमा निधन भयोे । उनको सपना पूरा भएको २५ वर्षको अवसरमा आयोजित कार्यक्रममा उनको फोटोमा माल्र्यापण गर्दा सबै भावुक थिए ।

कार्यक्रमकै बीचमा संस्थापक परिवारलाई होमस्टे व्यवस्थापन समितिले सम्मान ग¥यो । सो सम्मान ग्रहणपछि ‘क्याप्टेन बा’ की बुहारी उर्मिला गुरुङ निकै भावुक भइन् । ‘रुद्रमान मामा आज यो धर्तीमा हुनुभएको कति खुसी हुनुहुन्थ्यो होला ?,’ गहभरि आँसु बनाउँदै उनले भनिन्, ‘उहाँ नभए पनि हामी उहाँले देखाएको बाटोमा हिँडिरहेका छौं । माथि कतैबाट हेरिरहनुभएको छ भने पक्का खुसी नै हुनुहुन्छ होला ।’

२०५४ सालमा उनै क्याप्टेन बाले देखेको सपनाले २५ वर्ष पार गरेको छ । २०५४ सालमा रुद्रमानको अगुवाइमा सिरुबारीलाई ग्रामीण पर्यटकीय गाउँ घोषणा गरिएको थियो । त्यसपछि नेपालका अरु गाउँमा पनि होमस्टे खोल्ने लहर चलेको हो ।

८६ वर्षको उमेरमा अस्ताएका रुद्रमानलाई सिरुबारीले बिर्सिएको छैन । सिरुबारीमा उनलाई ‘क्याप्टेन बा’, ‘क्याप्टेन सा’ब’ भनेर चिन्छन् । उनी २००३ सालमा भारतीय सेनामा भर्ती भएका थिए । २०३५ सालमा अवकाश पाए । कांग्रेस विचारधाराका रुद्रमान गाउँ फर्किएर राजनीतिमा लागे । उनी २०४८ सालमा स्याङ्जा क्षेत्र नम्बर १ बाट सांसद पनि बने । विदेशका गाउँमा पैसा लिएर घरमै पाहुना राखेको देखेका उनलाई सिरुबारीमा पनि गर्न सकिन्छ भन्ने लाग्यो ।

गाउँबाट हिमाल देखिँदैन, सुविधा पनि राम्रो छैन तरपनि उहाँको योजनामा आन्तरिक तयारी जुट्यो । पहिला बाटोघाटो र पानीको सहज व्यवस्था गर्नतर्फ आफूहरू जुट्दा सहमति जनाएको ५ वर्षपछि मात्रै गाउँमा पाहुना बोलाउन थालिएको थियो ।

ढुंगाको बाटो, ढुंगाकै घर, ढुंगाले छाएका घर, दक्षिण एसियाकै पहिलो पर्यटकीय गाउँ सिरुबारीको परिचय थियो । यही सुन्दरता हेर्न र होमस्टे सिक्न सिरुबारीमा मान्छेहरु पुग्न थाले । पाहुनाको आउजाउले क्याप्टेन बा को सपनाले साकार रुप लियो । विस्तारै अन्य गाउँहरुले पनि सिरुबारीको सिको गर्न थाले ।

होमस्टे सञ्चालन अवधारणा बोकेर अझै पनि सिरुबारी जाने टोलीमा कमी नआएको उर्मिला गुरुङले जानकारी दिइन् । सिरुबारीबाट सिको गरेका होमस्टेहरुले आफूहरुले भन्दा राम्रो गरेको गुरुङको अनुभव छ । ‘हाम्रोमा होमस्टे सिक्न आउने कति छन्, कति नेपालमा खुलेका होमस्टेहरु लगभग सबै यहींबाट सिकेर गएका हुन्,’ उनले भनिन्, ‘घान्द्रुक, सिक्लेस, ल्वाङघलेल, अर्मला, याङ्जाकोट, घलेगाउँ, रानागाउँ, गिलुङ, अमलटारी… अरु त नाम नै भुलेँ ।’ सिरुबारी घुम्न आएकाहरुले आफूभन्दा राम्रो गरेको देख्दा सुन्दा खुुसी लाग्ने उनले बताइन् ।

रजत जयन्तीका अवसरमा व्यवस्थापन समितिले विविध कार्यक्रम गरी रजत जयन्ती मनाएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रतिनिधि सभा सदस्य राजु थापा, प्रदेश सभा सदस्य सरस्वती गुरुङ लगायत उपस्थित थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले घरबास (होमस्टे) ले स्थानीयस्तरमा उत्पादित वस्तुहरुको प्रयोगमा जोड दिनुपर्ने बताए । उनले घरबासमा सकेसम्म स्थानीयस्तरमा उत्पादन भएका परिकारहरुका साथै स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिन आग्रह गरे । ‘घरबास भनिए पनि कतिपय ठाउँमा बजारबाटै खरिद गरेर ल्याइएका सामग्रीहरुको प्रयोग हुन्छ’ उनले भने, ‘घरबासमा आउने पाहुनालाई जे जति सकिन्छ स्थानीय परिकारहरु र स्थानीय कला, संस्कृतिको प्रयोगमा जोड दिऔं, यसले होमस्टेको पहिचान दिन्छ ।’

प्रतिनिधि सभा सदस्य राजु थापाले होमस्टको भूगोल अझै बढाउन सकिने बताए । वडा नम्बर १ भित्र पर्ने सिरुबारी, पञ्चमूल, डहरे देउराली, माझकटेरी, थाप्ले लगायत गाउँलाई एउटै होमस्टे बनाउन सकिने उनले बताए । समग्र आँधीखोला गाउँपालिका विकासका लागि आफ्नो साथ र समर्थन रहने बताए ।

गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले सिरुबारीलाई होमस्टे अध्ययन केन्द्रमा रुपमा विकास गर्नुपर्ने बताइन् । होमस्टेका लागि साना साना योजना भन्दा पनि अध्ययन केन्द्र बनाउने गरी ठूला योजना अघि सार्नुपर्नेमा उनले जोड दिइन् । ‘अब सिरुबारीमा ५/१० लाखका योजना होइन करोडौंको योजना ल्याउनुपर्छ, यसमा मैले पनि पहल गर्नेछु,’ उनले भनिन्, ‘सिरुबारीमा अब घुम्नमात्र आउने होइन, अध्ययन केन्द्रका रुपमा विकास गर्न जरुरी छ ।’

घरबासको रजत जयन्तीका अवसरमा गत बिहीबारदेखि विविध कार्यक्रमअन्तर्गत स्व. क्याप्टेन रुद्रमान गुरुङ स्मृति गाउँ पर्यटन पत्रकारिताबाट अमृत भादगाउँले र युवराज पौडेल पुरस्कृत भए । उत्कृष्ट होमस्टेका रुपमा नवलपुरको अमलटारी मध्यवर्ती होमस्टलाई पुरस्कार प्रदान गरिएको थियो ।

होमस्टेको पाठशालाका रुपमा स्थापित सिरुबारीले आफैंले पनि विभिन्न पुरस्कारहरु प्राप्त गरिसकेको छ । सिरुबारीले सामुदायिकस्तरमा पर्यटन प्रवद्र्धनमा पु¥याएको योगदानलाई कदर गर्दै प्यासिफिक एसिया ट्राभल एसोसिएसन–२००१ ‘पाटा अवार्ड’ प्राप्त गरेको छ । विसं २०७४ मा उत्कृष्ट होमस्टेका रुपमा पनि पुरस्कार प्राप्त गरेको छ । देशकै १ सय नयाँ पर्यटकीय गन्तव्यमध्ये सिरुबारी सामुदायिक घरबास पनि सूचीकृत छ । ३९ घरबाट सुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ ।

यहाँ १ सयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको व्यवस्थापन पक्षका बारेमा बुझ्न टाढाटाढाबाट पाहुनाहरु आउने गर्छन् । २०७८ सालमा सिरुबारी गाउँको तस्बिर अंकित हुलाक टिकट प्रकाशन भइसकेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै