आहारारा पोखरा गोल्डकपको फाइनल आज

विजय नेपाल
पौष २३, २०७९
aaha rara

पोखरा, २३ माघ । अमेरिकाको भुटनीज युथ स्पोर्टस् क्लब मिनिसोटा र संकटा क्लब २२ औं आहारारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको आज फाइनल प्रतिस्पर्धामा उत्रिदैछन् ।

पाहुना टोलीको पहिलो पल्ट उपाधि जितेर फर्किने लक्ष्य छ भने संकटा १९ औं संस्करणको जस्तै उपाधि दोहो¥याउने दाउमा हुनेछ ।
बिवाईएससीका प्रशिक्षक प्रदीप हुमागाईंले पहिले पनि आफूले यहाँबाट उपाधि चुमेको स्मरण गर्दै अहिले पनि जितेर जाने बताए । उनले विपक्षी संकटामा राष्ट्रिय प्लेयर भएकोले आफूहरुलाई पनि नयाँ अनुभव हुने उनको भनाइ छ ।
संकटाका प्रशिक्षक सल्यान खड्गी फुटबल फिजिकलले मात्र नखेलिने गेम भएकोले आफूहरु पनि सोही अनुरुप उपाधि जीतमा तयार रहेको बताउँछन् ।

आहारारामा संकटाको यो सहित आठौं पटकको सहभागिता हो । पहिलो पल्ट उपाधि चुम्दा उसले विदेशी टिम अफ्रिकन रुट्स्लाई टाइब्रेकरमा ४–२ ले पराजित गरेको थियो । गत वर्ष भने संकटा तेस्रो क्वाटरफाइनलबाटै घर फर्किएको थियो ।

पहिलो सेमिफाइनलमा साविक विजेता एपिएफ क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्दै संकटा फाइनल पुगेको छ । सिधैं क्वाटरफाइनल खेलेको संकटाले त्रिभुवन आर्मी क्लबको चुनौती ३–१ ले पन्छाएको थियो ।

तर गत वर्षदेखि मात्रै आहारारामा सहभागिता जनाउन थालेको बिवाईएसीले यसपालि उत्कृष्ट लय समात्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो सेमिफाइनलमा चर्च ब्वाइज युनाइटेड फुटबल क्लबलाई १–० ले पराजित गर्दै उसले संकटासँग उपाधि भिडन्त सुनिश्चित गरेको हो । अन्तिम क्वाटरफाइनलमा भने मनाङलाई १–० ले हराएको थियो । अघिल्लो पटक बिवाईएसी पहिलो क्वाटरफाइनलमा एपिएफसँग ३–१ ले हार्दा पहिलो खेलबाटै बिदा लिन पुगेको थियो । रोचक त के छ भने ११ औं संस्करणमा थ्रिस्टारले टिमको लागि तेस्रो पल्ट उपाधि जित्दा प्रदीप हुमागाईं नै प्रशिक्षक थिए । अहिले उनी शारीरिक रुपमा सुगठित खेलाडी लिएर ५ करोड बढी खर्चिदैं समुद्रपारबाट पोखरामा फुटबल खेल्न आएका हुन् ।

क्याराभानसहित आहारारामा सर्वाधिक विजेता टिम विभागीय नेपाल पुलिस र मनाङ मस्र्याङ्दी क्लब हुन् । उनीहरुले ६–६ पटक उपाधि चुम्दा थ्रि स्टारको नाममा ५ पटक उपाधि जीतको इतिहास छ । यस्तै, संकटासहित, आयोजक सहारा क्लब पोखरा, विभागीय एपिएफ र अफ्रिकन युनाइटेड क्लबले १–१ पटक उपाधि जितेका छन् ।

विजेताले १२ लाख र उपविजेताले ६ लाख पुरस्कार प्राप्त गर्ने छन् ।

जारी संस्करणमा हालसम्म सम्पन्न ८ खेलमा एउटामात्र अतिरिक्त समयमा धकेलियो । चर्च ब्वाइज र पुलिसबीचको खेल निर्धारित समयमा १–१ को बराबरी हुँदा अतिरिक्त समयमा चर्च ब्वाइजले २–१ ले जितेको थियो । सबैभन्दा छिटो (पाँच मिनेटमै) गोल गर्ने खेलाडीमा धरानका प्रकाश बुढाथोकी र संकटाका स्टेफेन विनोङ रहे । उद्घाटन खेलमा प्रकाशले सहाराविरुद्ध र स्टेफेनले पहिलो सेमिफाइनलमा एपिएफविरुद्ध गोल गरेका हुन् । प्रतियोगितामा सर्वाधिक गोलकर्तामा संकटाका मिसुकी र स्टेफेन विनोङले सर्वाधिक ३–३ गोल गरेका छन् ।

आहारारा फुटबल टुर्नामेन्टमा १७ औं पटकको सहभागितामा चार पटकसम्म फाइनल यात्रा तय गरेको विभागीय त्रिभुवन आर्मी फुटबल क्लब यसपालि पनि उपाधि होडबाट बाहिरियो । संकटासँग तेस्रो क्वाटरफाइनलमा सुरुआती अग्रता जोगाउन नसक्दा आर्मीले ३–१ को जीत सुम्पिदै आफ्ना समर्थकलाई निराश पारेको हो । विश्वकपको रौनक सेलाउन नपाउँदै घरेलु मैदानको फुटबलले भने दर्शकलाई प्यारापिटमा त्यत्ति तान्न सकेन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै