विश्वकपमा मोरक्कोलाई हराउँदै क्रोएसिया तेस्रो

आदर्श समाज सम्वाददाता
पौष २, २०७९
crotia

पोखरा । साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप २०२२ मा तेस्रो भएको छ । शनिबार तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा अफ्रिकी टिम मोरक्कोलाई २–१ गोलअन्तरले हराएको हो ।

खेलको सातौं मिनेटमै अग्रता बनाएको क्रोएसियाको जीतमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले गोल गरेका हुन् । जोस्कोले हेडरमार्फत उत्कृष्ट गोल गर्दै टिमलाई अघि बढाएका हुन् । तर त्यो अग्रता २ मिनेट पनि टिकेन ।

विपक्षी टिमका तर्फबाट अक्रफ दारीले गोल गर्दै बराबरी खेलेका थिए । उनले फ्रिकिकबाट आएको बल क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत विपक्षी पोस्टको जाली चुमाएका हुन् ।

त्यस्तै खेलको ४२ औं मिनेटमा क्रोएसियाको लागि मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गोल गरेका थिए । पहिलो हाफमा कायम २–१ को अग्रता निर्धारित ९० मिनेटसम्मै बचाउँदै क्रोएसियाले तेस्रो स्थानको सफलता हासिल गरेको हो ।

त्यसो त, दोस्रो हाफमा मोरक्कोले निकै आक्रामक खेल खेलेको थियो । यद्यपि उसका प्रयास गोलमा परिणत हुन सकेनन् र चौथोमा सीमित भयो । विश्वकपको इतिहासमा अफ्रिकी टिम पहिलो पल्ट सेमिफाइनल प्रवेश गरेको इतिहास मोरक्कोले दर्ज भने गरिसकेको छ ।

तर, उसको स्वर्णीम यात्रा दोस्रो सेमिफाइनलमा फ्रान्सले रोकेको थियो । २–० ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन फ्रान्सले उपाधि भिडन्तमा अर्जेन्टिनाको भेट सुनिश्चित गरेको हो । पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले पन्छाएको थियो ।

अर्जेन्टिना र फ्रान्सबीच फाइनल कतारको लुसेल रंगशालामा आइतबार नेपाली समयअनुसार पौने ९ बजे हुनेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width