अर्जेन्टिना विश्वकपको फाइनलमा

आदर्श समाज सम्वाददाता
मंसिर २८, २०७९
Leonel Messi

पोखरा । अर्जेन्टिना फिफा विश्वकपको फाइनल पुगेको छ । गएराति क्रोएसियालाई पहिलो सेमिफाइनलमा ३–० को फराकिलो अन्तरमा पराजित गर्दै मेस्सीटिम अर्जेन्टिना विश्वकप उपाधि नजिक पुगेको हो । साथै, अर्जेन्टिनाको लागि आइतबारको फाइनल विश्वकपमा छैटौं फाइनल हुनेछ ।

बुधबार राति हुने दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्स र मोरक्को आमनेसामने हुनेछन् । तीमध्ये विजेताले दोहाको लुसेल रंगशालामा अर्जेन्टिनाको सामना गर्नेछ । सन् २०१४ को विश्वकपमा जर्मनीसँग फाइनलमा अर्जेन्टिनाले भोगेको निराशा यसपालि पूरा गर्न सक्ने गतिलो मौका छ ।

अहिले उपाधि हकदार नजिक बनाउन मेस्सीले पेनाल्टीमार्फत् गोलको खाता खोलेका थिए । खेलको ३४ औं मिनेटमा स्ट्राइकर अल्भारेजलाई विपक्षी गोलरक्षक डोमिनिक लिभाकोभिचले फल गरेपछि अर्जेन्टिनाले पेनाल्टी अवसर पाएको थियो । त्यसमा मेस्सीले कुनै गल्ती नगरी जाली चुमाए । ३९ औं मिनेटमा अर्जेन्टिनाले गोलअन्तर दोब्बर बनायो । जसमा अल्भारेजले मेस्सीको हेडर पासमा वन भर्सेस वनमा सहजै गोल गरे ।

पहिलो हाफ २–० ले टुंगाएको अर्जेन्टिनाले दोस्रो हाफमा फेरि गोल थप्दै जीत सुनिश्चित पारेको थियो । ६९ औं मिनेटमा लिओनेल मेस्सीले दायाँ विंगबाट एकल प्रयासमा युवा डिफेन्डर जोस्को भार्डीओललाई छक्याउँदै पेनाल्टी क्षेत्र भित्रआएर दिएको कटब्याकमा अल्भारेजले पहिलो टचमा फिनिस गरे । सन् २०१८ मा क्रोएसियासँग समूह चरणमा पराजित अर्जेन्टिनाले ४ वर्षपछि बदला लिएको हो । त्यसबेला क्रोएसियाले अर्जेन्टिनाको चुनौती ३–० गोलले पन्छाएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width