केफ, मदरल्याण्ड, न्यु मोडल र न्यु ग्यालेक्सीका विद्यार्थी उत्कृष्ट

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०७९
+2

पोखरा । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को परीक्षाफलमा पोखराका करुणानिधि एजुकेसन फाउन्डेसन (केफ), मदरल्याण्ड, न्यु मोडल र न्यु ग्यालेक्सीका विद्यार्थी उत्कृष्ट हुन सफल भएका छन् । सम्बन्धित विद्यालयले विभिन्न संकायमा आफ्ना विद्यार्थी जिल्ला तथा गण्डकी प्रदेशमा उत्कृष्ट हुन सफल भएको दाबी गरेका हुन् ।

सिमपानीस्थित केफ माविका ३ विद्यार्थी कास्की प्रथम बन्न सफल भएको दाबी गरिएको छ । ३.७५ जिपिए ल्याएर व्यवस्थापन समूहका साहिल गुरुङ, ३.६२ जिपिएसहित कानुन समूहका आकृति पराजुली र स्वेक्षा गौतम जिल्ला टप गर्न सफल भएको विद्यालयका कार्यालय प्रबन्धक एवं संचालक मुक्तिराम अधिकारीले दाबी गरे । विद्यालयबाट २ सय २ विद्यार्थी सहभागी भएका थिए । तीमध्ये ९ विद्यार्थीले जिपिए ३.६ देखि ३.७५ सम्म, ७६ जनाले जिपिए ३.२० देखि ३.६० सम्म, ८१ जनाले जिपिए २.८० देखि ३.२० सम्म र २५ जनाले जिपिए २.३९ देखि २.८० सम्म प्राप्त गरेका हुन् ।

विद्यालयबाट कक्षा १२ को परीक्षामा विज्ञानतर्फ सम्मिलित ५८ विद्यार्थीमध्ये छात्रा रजनी विकले ३.७१ जिपिए ल्याई विद्यालय सर्वोत्कृष्टसहित सत्प्रतिशत विद्यार्थी समुत्तीर्ण हुन सफल विद्यालयले जनाएको छ । प्रबन्धक अधिकारीका अनुसार विद्यालयले यसअघि पनि ४ पटक जिल्लामा उत्कृष्ट स्थान हासिल गरेको छ । २०६२÷०६३ देखि विद्यालयले प्लस टु कक्षा संचालन गर्दै आएको हो ।

विषयविज्ञ शिक्षक र उनीहरुलाई लामो समयसम्म एउटै विद्यालयमा रहने वातावरण बनाउन विद्यालय व्यवस्थापन सफल र विद्यार्थीको अनुशासन नै उक्त विद्यालयको सफलता भएको प्रबन्धक अधिकारी बताउँछन् । नर्सरीबाट नै पढाइ सुरु विद्यालयमा १३ सय विद्यार्थी र १२ शिक्षक कर्मचारी छन् । विद्यालयमा ११ र १२ कक्षामा व्यवस्थापन, कानुन र विज्ञानको पढाइ हुन्छ ।

उता, न्यु मोडल सेकेण्डरी स्कुल, नागढुंगाकी छात्रा तुलसी खत्रीले व्यवस्थापनमा ३.७५ जिपिए ल्याई कास्कीमै प्रथम भएको प्राचार्य लक्ष्मण पोखरेलले दाबी गरे । उक्त विद्यालयमा व्यवस्थापन र होटल व्यवस्थापन संकायमा पढाइ हुन्छ । विद्यालयले २०७० सालमा कास्कीमै तृतीय र २०७७ सालमा द्वितीय स्थान प्राप्त गरेको जनाएको छ ।

यस्तै, मदरल्याण्ड मावि, मासबारका छात्र सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकीमै उत्कृष्ट नतिजा ल्याएका छन् । ३.८८ जिपिए ल्याएका उनले कास्कीमात्र नभई गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा हासिल गरेको भन्दै विद्यालयले खुसी व्यक्त गर्दै हार्दिक बधाई ज्ञापन गरेको छ । उनी कक्षा ४ देखि नै मदरल्याण्डमा पढाइ सुरु गरेका थिए । परीक्षामा सहभागी ३ सय ३६ विद्यार्थीमध्ये १८ जनाले ३.६ देखि ४ जिपिए ल्याएका छन् । १ सय ६१ जनाले ३.२ देखि ३.६ जिपिए, १ सय १६ जनाले २.८० देखि ३.२० र १५ जनाले २.५५ देखि २.८० जिपिए ल्याई विद्यालयको अन्तिम परीक्षा उत्तीर्ण गर्न सफल भएको विद्यालयका प्राचार्य नारायण बरालले जनाए । २०६५ सालदेखि विज्ञान र व्यवस्थापन संकाय संचालन गरेको विद्यालयले विगतमा पनि उत्कृष्ट नतिजा हासिल गरेको उनले बताए ।

विज्ञान संकायमै न्यु ग्यालेक्सी सेकेण्डरी स्कूल, नदीपुरकी दीपा आचार्य छात्रातर्फ प्रदेशमै उत्कृष्ट भएकी छन् । उनी ३.८६ जिपिए ल्याएर छात्रातर्फ उत्कृष्ट भएको प्राचार्य रामजी शर्माले दाबी गरे । सामान्य परिवारकी दीपाले प्रोजेक्ट वर्कमा बढी ध्यान दिंदा उक्त नतिजा हासिल गरेको प्राचार्य शर्माले बताए । विद्यालयमा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन र पर्यटनसम्बन्धी पढाइ हुन्छ । यहाँ ११ सय विद्यार्थी र ९० शिक्षकशिक्षिका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका प्रमुख विष्णुनारायण श्रेष्ठले केन्द्रबाट लिस्ट नआइसकेकोले यो विद्यालयले नै उत्कृष्ट भनेर आफूहरुले भन्न नसकिने बताउँछन् । यद्यपि विद्यार्थीको नतिजाअनुसार सम्बन्धित विद्यालयले आ–आफ्नो दाबी गरिएको पाइन्छ ।
परीक्षामा देशभर नियमिततर्फ ३ लाख ६३ हजार ८ ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिकतर्फ ३ हजार १ सय ३२ गरी कुल ३ लाख ९६ हजार १ सय ८५ विद्यार्थीले सहभागिता जनाएका थिए । तीमध्ये ४ हजार १ सय ७९ जनाले ३.६१ देखि ४ जिपिए, ३० हजार १ सय ७ जनाले ३.२१ देखि ३.६० जिपिए, ६५ हजार २ सय ८४ जनाले २.८१ देखि ३.२० जिपिए, ६४ हजार ९३ जनाले २.४१ देखि २.८० जिपिए, १० हजार ९ सय जनाले २.०१ देखि २.४० जिपिए र ३५ जनाले १.६१ देखि २ जिपिए ल्याएका छन् । परीक्षा उत्तीर्ण हुनका लागि प्रयोगात्मक परीक्षामा ४० र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत ल्याउनै पर्र्ने व्यवस्था छ । त्योभन्दा कम अंक ल्याए पुनःपरीक्षा दिनुपर्छ । यस वर्ष १ लाख ८८ हजार विद्यार्थी नन ग्रेडिङमा परेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै