‘अनुशासित र सभ्य समाज निर्माणमा महानगरको साथ’

आदर्श समाज सम्वाददाता
श्रावण २६, २०७९
Om Shanti Raksha Bandhan NEWS

पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अनुशासित, सभ्य र नैतिकवान समाज निर्माणमा महानगरको सदा साथ रहने बताएका छन् ।

ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नयाँबजारले बुधबार आयोजना गरेको रक्षाबन्धन एवं स्नेह मिलन कार्यक्रममा बोल्दै महानगर प्रमुख आचार्यले सो कुरा बताएका हुन् । उनले अनुशासित, सभ्य र नैतिकवान समाज निर्माणमा ब्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालयकका सशक्त नारीशक्तिको महत्वपूर्ण योगदान रहने कुरामा आफू विश्वस्त रहेको र महानगरको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । संस्थाको मुख्यालय माउन्ट आबुसमेत भ्रमण गरेका आचार्यले यहाँ सेवारत आजीवन समर्पित सदस्यको लगनशीलता, समर्पण, अनुशासन र संगठन देखेर प्रभावित भएको बताए ।

रक्षाबन्धनको पूर्वसन्ध्यामा ब्रह्माकुमारीले संस्थाका समर्पित सदस्यका लागि संगठनलाई एकता, आत्मिक प्रेम र मर्यादाको सूत्रमा बाँध्ने उद्देश्यका साथ रक्षाबन्धन एवं स्नेह मिलन कार्यक्रम गरेको हो ।

समारोहमा संस्थाका अध्यक्ष राजयोगिनी ब्र्रम्हाकुमारी परिणीताले रक्षाबन्धन ५ विकारबाट आत्माको रक्षाको लागि बाँधिएको पावन एवं अलौकिक पे्रमको बन्धन भएकाले मन, वचन, कर्ममा धारण गरिने पवित्रताले नै मानिसको आचरणमा दिव्यता आउन सक्ने र जसको फलस्वरुप विश्वमा सुखशान्ति सम्पन्न दैवी स्वराज्य स्थापना हुन सक्ने विचार राखिन् ।

कार्यक्रममा संस्थाको मुख्यालय माउन्ट आबुबाट मुख्य प्रशासिका राजयोगिनी डा. दादी रतनमोहिनीले पठाएको राखी विमोचन गरिएको थियो । सो अवसरमा राजयोगिनी ब्रम्हाकुमारी परिणीताबाट मेयर र उनकी धर्मपत्नीले रक्षासूत्र ग्रहण गरेका थिए ।

संस्थाका महासचिव राजयोगी ब्र्रम्हाकुमार शैलेषराज बरालले संस्थाका गतिविधिबारे जानकारी दिएका थिए । अत्यन्तै व्यस्त जीवनशैलीमा तनावमक्त रहेर कार्य गर्न मेडिटेसन लाभदायक रहने कुरामाथि जोड दिंदै नगर प्रमुख आचार्यलाई मेडिटेसन सिक्न सुझाव दिए ।

कार्यक्रममा सेवा केन्द्रका सञ्चालिका तथा समर्पित सदस्यसहित १ सय जनाले रक्षासूत्र ग्रहण गरेका थिए ।

कार्यक्रममा संस्थाको लवलीहिल शाखा सञ्चालिका ब्रह्माकुमारी सुधा दिदीले रक्षाबन्धन पर्वको आध्यात्मिक रहस्यमाथि प्रकाश पारेकी थिइन् भने कार्यक्रम सञ्चालन ब्रह्माकुमारी शोभाले गरेकी थिइन् ।

रक्षाबन्धनको दिन शुक्रबार संस्थाका पोखरामा रहेका २२ सेवाकेन्द्र सहित देशका करिब ९ सय सेवाकेन्द्रमा रक्षासूत्र ग्रहण, आध्यात्मिक प्रवचन एवं अवगुण दान आग्रह तथा प्रसाद वितरण कार्यक्रम गरिने ब्रम्हाकुमार शैलेषराज बरालले दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width