भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आदर्श समाज सम्वाददाता
वैशाख ६, २०७९

पोखरा । सरकारले मंगलबारदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख ६ र ७ गते राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ तथा १२ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेको हो ।

भिटामिन ‘ए’ क्याप्सुल २७ लाख बालबालिका तथा जुकाको औषधि २४ लाख बालबालिकालाई खुवाइने परिवार कल्याण महाशाखा, पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए ।

भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र भिटामिन ‘ए’ सँगै जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो । उनका अनुसार भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ । उक्त कार्यक्रमका लागि ६ करोड ७२ लाख बजेट बिनियोजन गरिएको उनले बताए ।

वर्षमा २ पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ । मन्त्रालयले नजिकैको वितरण केन्द्रमा गई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width