औषधीसहित घरघरमै पशु प्राविधिक

आदर्श समाज सम्वाददाता
चैत्र १६, २०७८
pasu waling

वालिङ । वालिङ नगरपालिकाले पशुपालक कृषकलाई घरमै सेवा दिने उद्देश्यले घरघरमै औषधिसहित पशु प्राविधिक खटाउन सुरु गरेको छ ।
पशुपालक कृषकले व्यवसाय सञ्चालन गर्दै गर्दा आइपर्ने प्राविधिक समस्याबारे कार्यालय धाइरहनुपर्ने अवस्था अन्त्य गर्दै घरआँगनमै सेवा दिने मुख्य उद्देश्यसहित यो अभियान थालिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताए ।
‘पशुपालन गर्ने कृषकलाई कार्यालयसम्म आइरहनुपर्दा र प्रक्रिया पूरा गर्न झन्झटिलो हुने भएकाले प्राविधिकमार्फत घरघरमै पुगेर सेवा दिनुपर्छ भन्ने उद्देश्यले अभियान थालनी गरेका हौं,’ उनले भने, ‘औषधिसहित प्राविधिक घरघरमै पुगेर विशेषगरी दुधालु गाईभैंसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलो कार्यक्रमलाई अभियानको रुपमा सञ्चालन गरेका हौं ।’
व्यावसायिकरुपमा गाईभैंसी, बाख्रापालन गर्ने कृषकसँग घरघरमै पुगेर व्यवसाय सञ्चालनक्रममा आइपरेका समस्याबारे जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, निशुल्क औषधी वितरण गर्ने र आवश्यक परामर्श दिइने उनले जानकारी दिए ।

नगरका १४ वटै वडामा व्यावसायिकरुपमा फर्म सञ्चालन गरेका ३० फर्ममा पहिलो चरणमा सेवा दिइने

‘वालिङ नगरपालिका मासु र दूधमा आत्मनिर्भर छ,’ उनले भने, ‘पशुपालनका क्रममा देखिएका समस्यालाई समाधान गर्दै अझै लागत घटाउने र उत्पादन बढाउनका लागि यस अभियानले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं ।’
नगरभित्रका १४ वटै वडामा व्यावसायिकरुपमा फर्म सञ्चालन गरेका ३० वटा फर्महरुमा पहिलो चरणमा पुगेर सेवा दिइने पशु शाखा प्रमुख डा. वसन्तकुमार अधिकारीले बताए ।
‘व्यावसायिकरुपमा पशुपालन गर्नुभएका पशुपालक कृषकका फर्ममा पुगेर निशुल्करुपमा प्राविधिक सेवा र औषधी उपलब्ध गराउँछौं,’ प्रमुख अधिकारीले भने, ‘अब पशुपालक कृषक समस्या लिएर नगरपालिका कार्यालय वा प्राइभेट एग्रोभेट गइरहनुपर्ने अवस्थाको अन्त्य गर्ने छौं ।’
घरमै प्राविधिक सेवा र भैंसीमा देखिएको बाँझोपनको कारण पत्ता लगाई निशुल्क औषधी उपलब्ध गराइदिएकोमा आफूलाई खुसी लागेको मिनी कटौंजे भैंसीपालन फर्मका सञ्चालक कुश्माखर सुवेदी बताउँछन् । ‘घरघरमै प्राविधिक आएर परामर्श दिने, उपचार गरिदिने कार्यको निरन्तरताका लागि नगरपालिकासमक्ष अनुरोध गर्दछु,’ सञ्चालक सुवेदीले भने, ‘यस अभियानले म जस्ता अन्य पशुपालक कृषकलाई यस व्यवसायप्रति लाग्न थप ऊर्जा दिनेछ ।’

Related News

सम्बन्धित समाचार

  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…
  • पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । पशु स्वास्थ्य तथा पशु सेवा परिषद् ऐन र यसका प्रावधानका बारेमा पशु स्वास्थ्य तथा पशु सेवा क्षेत्रमा काम…

hero news full width