शिक्षा ऐन र योजना संशोधन

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
dhawalagiri

म्याग्दी । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन र योजना संशोधन भएको छ । आइतबार मुनामा भएको विशेष गाउँसभाबाट गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेस गरेको प्रस्ताव छलफलपछि पारित भएको हो । गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले गाउँपालिकाका स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गरिने औषधीको दररेट स्विकृत र मतगणना स्थलमा भिडियोमार्फत निगरानी गर्ने उपकरण खरिद गर्ने निर्णय पनि गरेको जानकारी दिए ।
निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सबै स्थानीय तहमा भिडियो प्रणाली जडान गर्न पत्राचार गरेको थियो । सो उपकरणका लागि ४ लाख रुपैयाँ बजेट बिनियोजन भएको छ । ७ वटा शीर्षकको १७ लाख ५० हजार रुपैयाँ बजेटको शीर्षक संशोधन भएको छ ।
२२ वटा योजनाका लागि शीर्षकान्तर गरेर थप ५० लाख ५ हजार रुपैयाँ बजेट बिनियोजन भएको छ । गाउँसभाले मुनाको धवलागिरी आधारभूत विद्यालयमा कक्षा ९ सञ्चालन गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ ।
माविको हकमा ३५ लाख रुपैयाँ र आधारभूत तहको हकमा २५ लाख रुपैयाँ प्रदान गर्ने व्यक्तिको नाममा विद्यालयको नाम राख्न र परिवर्तन गर्न पाउने व्यवस्था संशोधित शिक्षा ऐनमा गरिएको छ । गाउँसभामा उपाध्यक्ष रेशम छन्त्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । गाउँसभा सदस्य कलानिधि शर्मा, राजाराम सुवेदी, झकबहादुर छन्त्याल लगायतले छलफलमा भाग लिएका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै