१३२ केभीको लाहाचोक सबस्टेसन उद्घाटन

आदर्श समाज सम्वाददाता
चैत्र १५, २०७८
electricity~

पोखरा । नयाँ मोदी–लेखनाथ १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत लाहाचोक सबस्टेसन उद्घाटन गरिएको छ । संघीय सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सोमबार माछापुच्छ्रे ४ मा १३२ लाहाचोक सबस्टेसन उद्घाटन गरिन् ।
मन्त्री भुसालले विगतमा बत्ती बाल्ने कुरामात्रैै चर्चा हुने गरेकोमा अब उद्योग कलकारखाना, यातायातलगायत सबै क्षेत्रमा विद्युतको उपभोग गर्ने अवस्थामा पुगिएको र नेपाल ऊर्जामा आत्मनिर्भर बन्नेतर्फ अगाडि बढेको बताइन् । उनले आन्तरिकरुपमा खपत गरेर बढी भएको विद्युत निर्यात गरी नेपालले बेहोरिरहेको व्यापार घाटा कम गरिने उल्लेख गर्दै मन्त्री भुसालले अहिले हिउँदका केही महिनामात्र विद्युत आयात गर्नुपर्ने अवस्था रहेको बताइन् ।
गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी बरालले प्रसारण लाइन निर्माणमा स्थानीयले उठाएको वास्तविक समस्या सम्बोधन गरी आयोजना निर्माण गरिनु पर्नेमा जोड दिए । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले आयोजनाप्रति स्थानीयको अपनत्व बढाउन निर्माणका क्रममा स्थानीयले उठाएका जायज माग सम्बोधन गरिने बताए ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण लाइन र सबस्टेसन सञ्चालनमा आएपछि विद्युत आपूर्ति गुणस्तरीय तथा भरपर्दो भएको र सो क्षेत्रमा निर्माणाधीन विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिडमा प्रवाह गर्न पूर्वाधार तयार भएको बताए ।
भारतको विदेश मन्त्रालयका सहसचिव श्रीधरण मधुसुदनले प्रसारण लाइन तथा सबस्टेसनको निर्माण नेपाल र भारतबीचको सहयोग मात्रै नभएर महत्वपूर्ण क्षेत्रमा विकास साझेदारी भएको बताए । उनले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारतको सहयोग र साझेदारीमा निरन्तरता रहने प्रतिबद्धता जनाए । एक्जिम बैंकका महाप्रबन्धक सरोज कुन्टियाले बैंकले नेपालमा १७ वर्षदेखि सहयोग गरिरहेको बताउँदै प्रसारण लाइन र सबस्टेसनको निर्माणले स्थानीय समुदायलाई पनि लाभ दिने विश्वास व्यक्त गरे ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले सो क्षेत्रमा १४३ मेगावाट विद्युत उत्पादन हुने सम्भावना रहेको बताउँदै आयोजना निर्माणमा स्थानीयको पीरमर्काको उचित सम्बोधन गर्न आग्रह गरे ।

लाहाचोक सबस्टेसनबाट माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ

सबस्टेसनमा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिएका पावर ट्रान्सफर्मर छन् । सबस्टेसनमा स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ३३ केभीका १ वटा लाइन बे र ४ वटा ११ केभीका फिडर छन् । आयोजनाअन्तर्गत मोदी–२ देउपुरको सबस्टेसनबाट लाहाचोकसम्म १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ । नयाँ मोदी १३२ केभी स्विचिङ स्टेसनमार्फत मोदी जलविद्युत केन्द्र हुँदै लाहाचोक सबस्टेसन राष्ट्रिय ग्रिडमा जोडिएको छ । साथै सबस्टेसनबाट हेमजा ३३/११ केभी सबस्टेसन पनि जोडिने छ ।
लाहाचोक सबस्टेसनबाट माछापुच्छ्रे, अन्नपूर्ण गाउँपालिका र पोखरा महानगरपालिकामा विद्युत आपूर्ति दिइएको छ । यसबाट त्यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र भरपर्दो भएको छ । पोखराबाट त्यस क्षेत्रमा विद्युत आपूर्तिको लगिएको लाइन लामो हुँदा ट्रिपिङ, लो भोल्टेज लगायत समस्या थियो । अब लाहाचोक सबस्टेसनबाट आपूर्ति दिंदा त्यस क्षेत्रको विद्युत सेवा सुधार भई उपभोक्ताले भरपर्दो र गुणस्तरीय विद्युत पाएका छन् ।
पर्वत, कास्कीलगायत जिल्लाको विद्युत आपूर्ति सुधार गर्न र मोदी, सेती, मादीमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजना निर्माण सुरु गरिएको हो । कुल लागत २ अर्ब २४ करोड रहेको आयोजनामा नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र आयात निर्यात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋण रहेको छ ।
नयाँ मोदी–लेखनाथ प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ मोदीमा १३२ केभी स्विचिङ सबस्टेसन, लाहाचोकमा नयाँ सबस्टेसन र लेखनाथ सबस्टेसनको स्विचयार्डमा १३२ केभी लाइनको बे निर्माण भएको छ । सबस्टेसन बनाउन हिताची इनर्जी भारतसँग ठेक्का सम्झौता भएको थियो ।
प्रसारण लाइन निर्माण्मा कलपत्रु पावर ट्रान्समिसन, भारतसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाअन्तर्गत नयाँ मोदी–लाहाचोक प्रसारण लाइन खण्ड निर्माण सम्पन्न भई लाइन सञ्चालनमा आइसकेको छ भने लाहाचोक–लेखनाथ खण्ड निर्माणाधीन छ । लाहाचोक–लेखनाथ खण्डको ७५ वटा टावरमध्ये १९ वटा को निर्माण बाँकी छ । माच्छापुच्छ«े गाउँपालिका र पोखरा महानगरपालिको विभिन्न ठाउँका स्थानीयले प्रसारण लाइनको रुट परिवर्तन माग गर्दै अवरोध गरेले निर्माण प्रभावित भएको छ । प्रसारण लाइनको लम्बाइ ४३ किमी छ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै