गण्डकीमा टाइफाइडविरुद्धको निशुल्क खोप

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Khop Photo

पोखरा । विश्वमा टाइफाइड रोग जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा रहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर बर्सेनि २ करोड व्यक्तिलाई यो रोग लाग्ने गरेको छ । ती मध्ये करिब १ लाख ६० जनाको टाइफाइडकै कारण ज्यान जाने गरेको डरलाग्दो तथ्यांक छ । नेपालमा पनि प्रत्येक वर्ष ४ लाख ५० हजारभन्दा बढी संक्रमित हुने गरेका छन् । यो रोगले १५ वर्षभन्दा मुनिका बाल बालिकाहरुमा अन्य उमेर भन्दा ११ गुणा बढीमा संक्रमण हुने गरेको छ ।
टाइफाइड रोकथामको प्रमुख उपाय नै खोप हो । भारतले टाइफाइडविरुद्ध उत्पादन सुरु ग¥यो । त्यसपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई २०१७ अक्टोबरदेखि खोपमा समावेश ग¥यो । सोही अनुसार २०१७ देखि २०२१ सम्म बहुवर्षीय खोप कार्ययोजना लागु गर्ने नीति लियो ।
नेपाल सरकारको नीतिअनुरुप नै गण्डकी प्रदेश सरकारले पनि १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाउने तयारी थालेको छ । प्रदेशभर सो उमेर समूहका ५ लाख ६० हजार २ सय २७ बालबालिकाहरु खोपबाट नछुटुन् भनेर प्रदेशस्तरको प्रशिक्षण पनि सुरु गरिसकेको छ । खोप कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयले गण्डकीमा टाइफाइडविरुद्ध खोपका लागि तयारी तीव्र पारेको छ ।
बहुवर्षीय खोप कार्ययोजना २०१७–२१ को लक्ष्यअनुरुप यही चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म गण्डकी प्रदेशमा टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । प्रदेशमा पहिलो पटक सञ्चालन गर्न लागिएको टाइफाइडविरुद्धको खोप १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई लगाइने प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । खोप साविकको गाविसको प्रत्येक वडामा रहेका विद्यालयमा लगाउने व्यवस्था गरिने उनले बताए । ‘प्रत्येक विद्यालय, वडा कार्यालय र आवश्यक परे स्वास्थ्य संस्थामा पनि खोप लगाउने व्यवस्था गर्छौं,’ उनले भने ।
खोप सञ्चालन गर्न स्वास्थ्य निर्देशनालयले प्रदेशका सबै जिल्लाका अधिकारीलाई तालिम र सूक्ष्म योजना गराइसकेको जनाएको छ । खोप र खोपसँग आवश्यक पर्ने सामग्रीहरु केन्द्रबाट प्रदेशमा चैत २० गतेसम्ममा आइपुग्ने र जिल्लामा चैत २१ देखि २३ गतेसम्ममा पु¥याइ सकिने प्रदेश स्वास्थ्य निर्देशक खड्काले बताए । टाइफाइड खोपको प्रभावकारिता ९६.९७ प्रतिशत रहेको दाबी गरिएको छ । यो खोप लगाउँदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउनेलगायत लक्षण देखिए पनि जटिल प्रकारको समस्या नआउने स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका स्वास्थ्य सामग्री आपूर्ति व्यवस्थापन विभागका निर्देशक डा.रोशन न्यौपानेले बताए । प्रति लाखमा १ जनालाई जटिलता हुनसक्ने भनिएकाले त्यस्ता अनपेक्षित घटना भइहालेमा तत्काल उपचार गर्नका लागि आकस्मिक औषधीसमेत व्यवस्था गरिने उनको भनाइ छ । उनले टाइफाइड रोकथामका लागि खोप प्रभावकारी हुने विश्वास व्यक्त गरे । ‘तर भ्याक्सिन लगाइएको छ भनेर मात्र पुग्दैन । भ्याक्सिनसँगै सरसफाइपनि ध्यान दिनुपर्छ,’ उनले भने ।
गण्डकी प्रदेशमा भने टाइफाइडका कारण प्रतिवर्ष कति बिरामी हुन्छ भन्ने तथ्यांक छैन । तर उपचारका लागि अस्पताल आउने बिरामीमध्ये हरेक ४ जनामा १ जना अर्थात् १ चौथाइ बिरामी टाइफाइडका बिरामी हुने गरेको डा.न्यौपानेले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै