किन सबै अमरसिंह बन्न सकेनन् ?

आदर्श समाज सम्वाददाता
चैत्र १४, २०७८
Amarsingh

पोखरा । ‘म देख्छु कतिपय विद्यालयहरु भूत बंगाला बनेका छन् । किन सबै अमरसिंह बन्न सकेनन् ? यो पनि त सरकारी विद्यालय हो ।’
गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले अमरसिंह माध्यमिक विद्यालय पोखराको ६६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहको उद्घाटन गर्दै उक्त कुरा व्यक्त गरेका हुन् । उनले भने,‘ हाम्रो प्रदेशकै नमूना अमरसिंह मावि भएकोमा हामीलाई गौरव छ ।
देशमा युग सुहाउँदो शिक्षा नहँुदा हाम्रा विद्यार्थी अदक्ष मजदुर भएर खाडी मुलुकमा जानु परेको चर्चा गर्दै उनले अब आवश्यकता अनुसारको ज्ञान सीप दिएर देशकै उन्नतिमा लाग्ने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
गण्डकी प्रदेशका सभासद मनबहादुर गुरुङले प्लस टु गरेपछि कहाँ जाने भन्नेबारे आफ्नै देशमा पढ्ने र आफ्नै देशको विकासमा जुट्ने अभियान अमरसिंहबाटै सुरु हुनुपर्नेमा जोड दिए ।
शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख नारायणप्रसाद सुवेदीले अमरसिंहमा स्रोत र साधनको अभाव नरहेको उल्लेख गर्दै स्थापित विद्यालयहरुलाई गुणस्तर कायम राख्ने चुनौती रहेको बताए ।

संस्थापनकालीन शिक्षक कुलप्रसाद दाहालले ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षय कोषका लागि रकम हस्तान्तरण गरे

विद्यालय सञ्चालक समितिका पूर्व अध्यक्ष प्राडा कृष्ण केसीले अमरसिंह माविको जन्म कथा कारुणिक रहेको स्मरण गरे । उनले विश्व युद्धमा हराएका गोर्खाली सेनाको पेन्सन भत्ता आदि बापत्को रकम सामाजिक क्षेत्रमा लगाउने जिम्मेवारी मेजर वीरसिंह गुरुङले पाएका र उनले २०१३ साल चैत १३ गते एकैदिन सोल्जर्स बोर्ड भोकेसनल ट्रेनिङ स्कुल (हालको अमरसिंह) र सोल्जर्स बोर्ड हस्पिटल (हालको गण्डकी अस्पताल) स्थापना गरेको जानकारी दिए ।
संस्थापक मेजर वीरसिंहको परिवारका सदस्य लोकबहादुर गुरुङले संस्थापकको यथोचित सम्मान विद्यालयले गर्नुपर्नेमा जोड दिंदै विद्यालयको उन्नति होस् भन्ने चाहेको बताए ।
विज्ञान संकायका संस्थापनकालीन शिक्षक कुलप्रसाद दाहालले ५५ हजार ५ सय ५५ रुपैयाँ प्रधानाध्यापकलाई हस्तान्तरण गर्दै विज्ञान विषयका उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदानका लागि अक्षयकोष राखेको बताए ।
स्व.ले.धनबहादुर गुरुङ स्मृति अक्षयकोष छात्रवृत्ति पुरस्कारका संस्थापक डा. देवी गुरुङले आफ्ना सन्ततिलाई पढाउने एकल महिलालाई प्रोत्साहनका लागि कोष राखेको जानकारी दिइन् ।
पोखरा १२ का वडा अध्यक्षसमेत रहेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक तेजस्वी बरालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
व्यवस्थापन समितिका सदस्य चन्द्रकुमारी पराजुलीको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा दीर्घ सेवा गरेका शिक्षकहरुको सम्मान तथा छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षकहरु यामबहादुर थापा, शशीराज भुत्र्याल र बलराम पोखरेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width